राष्ट्रिय सभाको निर्वाचनमा नेकपा एमाले क्लिन स्वीप हुनबाट जोगिएको छ। कोशी प्रदेशमा नेकपा (एमाले) की रूक्मिणी कोइराला विजयी हुँदा एमाले ‘क्लिन स्वीप’ हुनबाट जोगिएको हो।
उनले ५ हजार ८६ मत प्राप्त गरेकी छन्। प्रतिस्पर्धी माओवादीकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाइन्। प्रस्ट बहुमत हुँदा पनि सत्ता गठबन्धनको यो एकमात्र हार हो। राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका मतदाताले ‘फ्लोर क्रस’ गर्दा कार्कीले पराजय व्यहोर्नु पर्यो।
स्थानीय तहमा सत्तागठबन्धनका १७ जना जनप्रतिनिधि र प्रदेशमा तीन जना सांसदले ‘फ्लोर क्रस’ गरेका छन्। राष्ट्रिय सभा निर्वाचनमा कोशीमा एमाले र राप्रपाले तालमेल गरेका थिए। एमालेका उम्मेदवार विजयी भए पनि राप्रपाका उम्मेदवार भने पराजित हुन पुगे।





