
चितवन : हिन्दु संस्कृतिअनुसार ८४ वर्ष पुगेपछि चौरासी पूजा गर्ने प्रचलन छ। अहिले धेरै पैसा खर्च गरेर चौरासी पूजा गर्ने प्रचलन फेसन बनेको छ। तर चितवनकी एक ज्येष्ठ नागरिकले चौरासी पूजामा लाग्ने खर्च राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका छन्।
भरतपुर-२ क्षेत्रपुरका खिमानन्द पौडेलले बिहीबार एक कार्यक्रम गरी आविष्कार केन्द्रका सञ्चालक समितिका सदस्य हरि सिलवाललाई ३ लाख ६५ हजार रुपैयाँ हस्तान्तरण गरेका छन्। खिमानन्दले नयाँ खोज, अनुसन्धान र आविष्कारका लागि सहयोग होस् भनेर चौरासी पूजाको खर्च आविष्कार केन्द्रलाई प्रदान गरेको बताए।उनले संस्कृतिको नाममा तडकबडक गर्ने प्रवृत्तीलाई निरन्तरता दिन नहुने बताए।
‘मैले मेरा छोरा, छोरीको विवाह पनि कुनै तामझाम बिना गरेँ। अहिले यो कर्म पनि कुनै सिर्जनात्मक, रचनात्मक काम गरेर सक्न पाए हुन्थ्यो भन्ने लागेको थियो,’ उनले भने, ‘परिवारले मेरो इच्छा पूरा गरिदिए।’ राष्ट्रिय आविष्कार केन्द्रका सिलवालले सामाजिक दबाब नपर्ने गरी सिर्जनशील काम गर्नु सामाजिक अन्वेषण रहेको बताए। यहाँबाट आएको सहयोगबाट केन्द्रले ऊर्जा प्राप्त गर्ने उनको भनाइ छ।