काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरूबीच संवादको खाँचो औंल्याएका छन्। संयुक्त राष्ट्र संघको नि:शस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताएका छन्।
नि:शस्त्रीकरण मामिलासम्बन्धी संयुक्त राष्ट्र संघको निकाय युएनओडिएका तर्फबाट उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गरेकी मिस इजुमी नाकामित्सुसँगको भेटवार्ता क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियाको उदाहरणीय रहेको बताउँदै विश्व शान्तिका लागि संवाद मात्रै एकमात्र विकल्प भएको औंल्याए।
‘नेपालको ऐतिहासिक शान्ति प्रक्रिया विश्वका मुलुकहरूका लागि उदाहरण बनेको छ,’ उनले भने, ‘अहिले विश्वका कैयन् क्षेत्र अत्यन्तै संवेदनशील अवस्थामा रहेका छन्। रूस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्व, लगायतका घटनाले विश्व शान्तिमा चुनौती थपेका छन्। तर हामी वार्ता र संवादका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिन चाहन्छौं।’
प्रधानमन्त्री प्रचण्डले अगाडि बुद्ध जन्मेको भूमि र शान्तिप्रिय देश नेपालले विश्वमा शान्ति स्थापनाका लािग विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा उल्लेख्य भूमिका खेल्दै आएको समेत स्मरण गराए।
भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघको महासभामा अति कम विकसित देशहरूको नेतृत्वकर्ताको हैसियतले खेलेको भूमिकाका बारेमा समेत चर्चा गर्दै शान्ति स्थापनाका लागि संयुक्त राष्ट्र संघका प्रयासहरूमा सदैव साथ दिने र नेपालले विश्व शान्तिका लागि नेतृत्वदायी भूमिका खेल्ने बताएको उनको सचिवालयले बताएको छ।
‘विश्व शान्ति तथा नि:शस्त्रीकरणका पक्षमा संयुक्त राष्ट्र संघले खेलेको भूमिका प्रशंसनीय छ,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भन्यो, ‘हामी संयुक्त राष्ट्र संघका हरेक कदममा साथ छौं र भविष्यमा पनि साथ रहने प्रतिबद्धता व्यक्त गर्दछौं।’
संयुक्त राष्ट्र संघको प्रतिनिधि मण्डलका तर्फबाट बोल्दै इजुमी नाकामित्सुले नि:शस्त्रीकरण मामिलाको दक्षिण एसियाली केन्द्रको कार्यालय नेपालमा स्थापना गरेको जनाउँदै नेपाल दक्षिण एसियाली क्षेत्रमा शान्ति केन्द्र बन्ने अपेक्षा राखेको बताएकी थिइन्।
‘परमाणु हतियारले सुसज्जित छिमेकीहरूको बीचमा नेपाल शान्ति केन्द्र बन्ने अपेक्षा राखेर केन्द्रको स्थापना गरिएको हो,’ उनको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘नेपालले विगतमा झैं क्षेत्रीय र वैश्विक शान्तिका पक्षमा आफ्नो भूमिका प्रभावकारी खेल्ने अपेक्षा रहेको छ।’
भेटका अवसरमा इजुमीले शान्ति मिसनमा दोश्रो योगदानकर्ता राष्ट्रका रूपमा नेपालले खेलेको भूमिकाको समेत प्रशंसा गरिन्। भेटवार्ताका क्रममा संयुक्त राष्ट्र संघको नेपालस्थित आवासीय प्रतिनिधि हाना सिंगर, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रूपक सापकोटा, परराष्ट्र मन्त्रालयका अधिकारी लगायतको उपस्थिति रहेको थियो ।





