आफ्नै छोरीको विभत्स हत्या गर्ने बाबु पक्राउ

२०८० माघ १२, शुक्रबार

पर्सा : छोरीले अन्तरजातीय प्रेम गरेको थाहा पाएपछि बारामा आफ्नै बाबुले नाबालिग छोरीको विभत्स हत्या गरेको रहस्य बाहिर आएको छ । आफ्नै १४ वर्षीया छोरी कौशिला कुमारीको विभत्स हत्या गरेर खोलामा फ्याँकेको आरोपमा फेटा गाउँपालिका-१, त्रिवेणीका ४४ वर्षीय हरिन्द्र महत्तोलाई प्रहरीले करिब पाँच महिनापछि पक्राउ गरेको हो ।

गत भदौ १२ गते पर्साको जिराभवानी गाउँपालिकाको सुपौलीस्थित इमिर्ती खोलामा टाउको नभएको शव सडेगलेको अवस्थामा फेला परेको थियो । प्रहरीले अर्को दिन नदीमै टाउको पनि भेटाएको थियो । ‘त्यसबेला शवको प्रकृति हेर्दा करिब ३/४ दिन अगावै हत्या गरेको जस्तो देखिन्थ्यो, सडेगलेको अवस्थामा भेटिएकाले ठ्याक्कै ठम्याउन मुस्किल थियो,’ पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमारविक्रम थापाले भने ।

खोजतलास गर्दा महत्तोकी छोरी फरार रहेको खुलेपछि सोधपुछ गर्ने क्रममा उनी आफैँले छोरीको हत्या गरेको खुलेको डिएसपी थापाले जानकारी दिए । उनका अनुसार महत्तोले आफ्नी १४ वर्षीया छोरीको हत्या गरेको स्वीकार गरिसकेका छन् । महत्तोलाई प्रहरीले माघ ५ मै पक्राउ गरेको थियो ।

‘तल्लो जातको केटासँग प्रेमसम्बन्ध राखेको र सम्झाउँदा नमानेपछि छोरीको हत्या गरेको उसले वयानमा स्वीकार गरिसकेको छ,’ डिएसपी थापाले भने । कौशिलाको हत्या महत्तो एक्लैले गरे वा अरु को-को संलग्न थिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार