काठमाडौं : सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सिभिल सहकारीको बचत रकम अपचलन गरेका इच्छाराज तामाङलगायत आरोपितहरुको सम्पत्ति जफत गर्ने निर्णय विशेष अदालतले गरेको छ ।
अदालतको फैसलाबमोजिम उनीहरुको सम्पत्ति जफत भएमा त्यो सम्पत्ति सहकारीका पीडितहरु बचतकर्ताको रकम फिर्ता गर्न प्रयोग हुने भएको छ । बचतकर्ताहरुको रकम सिभिल सहकारी तथा इच्छाराज तामाङ समूहरुले ठगी गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । सो मुद्दामा पीडितलाई बचत रकम फिर्ता गर्नुपर्ने फैसला भएमा इच्छाराजलगायतको जफत सम्पत्ति त्यसमा प्रयोग हुने भएको हो ।
विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर गर्दा यससम्बन्धी व्याख्या गरेको हो । इच्छाराज तामाङ र सिभिल सहकारीबाट ठगिएका पीडितहरु ठगी मुद्दा लिएर जिल्ला अदालत काठमाडौं गएका छन् । त्यो मुद्दा जिल्ला अदालत काठमाडौंमा नै विचाराधीन रहेको अवस्थामा विशेष अदालतले इच्छाराज लगायतको समूहलाई दोषी ठहर गर्दै ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो तिराउने आदेश गरेको छ । उनलाई त्यति नै रकम जरिवाना हुनेछ ।





