प्रमुखको सरुवा माग्दै औद्योगिक क्षेत्रका कर्मचारी आन्दोलनमा

२०८० माघ २२, सोमबार

हेटौंडा : औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडाका प्रमुख भोजराज बिनाडीले आफूहरूमाथि अनुचित व्यवहार, मानसिक यातना, कार्यस्थलमा अनुपयुक्त वातावरण सिर्जनालगायत ‘सामन्ती व्यवहार’ देखाएको भन्दै कार्यालयका सबै तहका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

माघ १७ गतेदेखि कर्मचारीहरू हातमा कालोपट्टी बाँधेर ७ दिने आन्दोलनमा उत्रिएका हुन् । उक्त विषयमा कर्मचारीहरूले केन्द्रीय कार्यालयमा हस्ताक्षर संकलन गरी पठाइसकेको बताएका छन्। श्रम तथा रोजगार कार्यालय हेटौंडामा बिनाडीको सरुवा गर्न भन्दै निवेदन पनि गरिसकेका छन्। आफूहरूले बारम्बार समस्याहरु राख्दा पनि कर्मचारीबीच समन्वय नगरेको र माग सम्बोधनमा बेवास्ता गरेको भन्दै आफूहरूले शान्तिपूर्ण आन्दोलनको बाटो रोज्न बाध्य भएको वरिष्ठ सहायक मनीषकुमार मिश्रले बताए ।

कर्मचारीले व्यवस्थापकीय गुण बिनाडीमा नभएको भन्दै उहाँको कार्यशैली कर्मचारीमैत्री र उद्योगमैत्री दुवै नभएको आरोप लगाएका छन्। उद्योगी र कर्मचारीहरूको गुनासाहरू सुन्ने र निदान गर्ने क्षमता बिनाडीमा नभएर आफूहरू बाध्यात्मक स्थितिमा आन्दोलित भएको उनीहरू बताउँछन्। आन्दोलनकै पक्षमा रहेका कर्मचारीले केन्द्रीय कार्यालयले कर्मचारीहरूको मागलाई छलफल गरी उचित निकासा निकाल्नुपर्ने बताएका छन्।

हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय कर्मचारी संघ एकाईं समिति अध्यक्ष तेजराज थिङले व्यवस्थापन प्रमुख बिनाडीको सरुवाको बिकल्प नभएको बताएका छन्। बिनाडीले कर्मचारीहरूलाई पटकपटक ‘जागिर खाइदिन्छु’ भन्ने धम्कीपूर्ण व्यवहारसमेत देखाएको उनले बताए। बागमती प्रदेशका उद्योग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारलाई मागपत्रसमेत बुझाइसकेको कर्मचारीहरू बताउँछन्। ‘माघ २४ गतेसम्म हातमा कालोपट्टी बाँधेरै कार्यालयमा शान्तिपूर्ण ढंगले काम गर्छौ । माग सम्बोधन नभए दोस्रो चरणको आन्दोलनमा उत्रिनेछौं,’ कर्मचारी भन्छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय व्यवस्थापक प्रमुख बिनाडी कर्मचारीहरूको आरोप झुटो भएको बताउछन् । कर्मचारीहरूले उल्टो आफूलाई कार्यसम्पादनमा अवरोध पु¥याएको उहाँको दाबी छ । कर्मचारीहरूसँग वार्तामा बस्न आफू तयार रहेको र उनीहरूको मागमाथि चाँडै नै छलफल हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार