काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैतभित्रै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताएका छन् ।
मंगलबार पोखरामा भएको एक कार्यक्रममा मुख्यमन्त्री पाण्डेले पोखरालाई चैतभित्र पोखरालाई मुलुककै पर्यटकीय राजधानी घोषणा गर्ने तयारीमा गण्डकी सरकार लागेको बताए । सर्वोच्च अदालतले फेवातालको सीमांकन, नक्साङ्कन र सौन्दर्यकरण गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशनात्मक रूपमा दिएको आदेश कार्यान्यन गर्ने बताए । उनले सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न मुख्यमन्त्रीको अध्यक्षतामा सहजीकरण गर्ने समिति बनाएको पनि जानकारी दिए ।
उनले अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको काम संघ सरकारअन्तर्गत रहेकाले प्रदेश सरकारले गर्न सक्न विषयमा छलफल भइरहेको बताए ।उनले गण्डकी प्रदेश सरकारले पर्यटकीय पदमार्गको संरक्षणका लागि पर्यटकीय पदमार्ग भएको क्षेत्रमा सडक मार्गका लागि बजेट माग गर्न नपाउने र बजेट विनियोजन नगर्ने नीति लिएको पनि बताए । पदमार्गमा बाटोको संरक्षण गर्ने दायित्व आमजनताको भएको भन्दै उनले सरकारले पदमार्गमा बाटो खन्न डोजर चलाउने कुरालाई प्रोत्साहित नगर्ने बताए ।





