कृषि, पर्यटन र ऊर्जा शक्तिको विकासबाट मात्रै मुलुक समृद्ध बन्छ : राष्ट्रपति पौडेल

२०८० फाल्गुन २, बुधबार

पाँचथर : राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको प्रचुर विकासका लागि मुलुक केन्द्रित हुनुपर्ने बताएका छन् । बुधबार पाँचथरको फिदिममा आयोजित श्रीमद भागवत ज्ञान महायज्ञ तथा पाँचथर बहुधार्मिक अध्यात्मिक महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले कृषि, पर्यटन र ऊर्जा शक्तिको विकासबाट मात्रै मुलुक समृद्ध बन्ने बताए ।

नेपालको माटो हावापानी र पर्यटनलाई बुझ्न नसक्दा नेपालमा विकास निर्माण प्रक्रिया पनि पछाडि परेको उनको भनाइ थियो । नेपालबाट पलायन भइरहेको युवा शक्तिलाई रोक्न शिक्षा नीति, पाठ्यक्रम र प्रविधियुक्त प्रतिस्पर्धी तथा गुणस्तरीय पठनपाठनको विकास गर्नुपर्ने पनि उनले बताए ।

‘कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको प्रचुर विकासबाट मात्रै मुलुक समुन्नत हुन्छ, त्यसका लागि पहिलो खाँचो सुशासनको छ, म त्यही एजेण्डामा आज पनि उभिएको छु, हामीले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी छ ,यीनै विषयमा हाम्रो शिक्षा केन्द्रित हुनुपर्छ,’ पौडेलले भने । उनले फोस्रा नाराले मात्रै मुलुकको समृद्धिको बाटो खुला हुने बताए । बसाइँसराइ रोक्न र जिल्लामै गुणस्तरीय उच्च शिक्षा दिलाउनका लागि पाँचथर बहुमुखी क्याम्पसले बहुधार्मिक र आध्यात्मिक महोत्सवको आयोजना गरेर प्रशंसनीय कार्य गरेको उनले बताए ।

२०३९ सालमा स्थापना भएको पाँचथर बहुमुखी क्याम्पसको दिगो सञ्चालनका लागि अक्षयकोष स्थापनासँगै थप संकायमा पठन पाठनको वातावरण बनाउने उद्देश्यले महायज्ञ तथा आध्यात्मिक महोत्सवको आयोजना गरिएको क्याम्पस सञ्चालक समति अध्यक्ष दिपकप्रकाश बाँस्कोटाले बताए । फागुन ९ गतेसम्म चल्ने महायज्ञमा वाचन प्रविण दिनवन्धु पोखरेलको प्रमूख वाचकत्व रहनुका साथै किराँत धर्म दर्शन र मुन्धुममा डाक्टर चन्द्रकुमार सेर्मा र बौद्व धर्म दर्शनमा फुर्तेम्बा शेर्पाले प्रवचन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार