काठमाडौं : अख्तियारको हिरासतमा रहेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलले अमेरिका, दुबई र सिंगापुरलगायतका विभिन्न बैंकमा १ अर्ब रुपियाँभन्दा बढी जम्मा गरेको हुनसक्ने अनुमान गरिएको छ।
अकुत सम्पत्तिमा छानबिनमा रहेका पौडेलले आईटी क्षेत्रको खरिद प्रक्रियामा व्यापक कमिसन लिने गरेको, कम मूल्यको सामानलाई अत्यधिक धेरै देखाई खरिद गरी सोवापत पनि करोडांै रुपियाँ असुलेर एक अर्बभन्दा बढी रकम कमाएको देखिएको अख्तियार स्रोतको दाबी छ। सो रकम प्रयोग गरी उनले अमेरिकाको न्युयोर्कमा रहेकी श्रीमती डा. एलिना बस्नेतको नाममा ७ करोडभन्दा बढी रकम तिरेर सुविधा सम्पन्न बंगला खरिद गरेको समेत पाइएको छ।
अख्तियारले सुरक्षण मुद्रण केन्द्रमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ६९ करोड ८ लाख रुपियाँ अनियमितता गरेको आरोपमा पौडेलविरुद्ध गत वैशाख ३ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्यसपछि पनि अख्तियारले केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अकुत सम्पत्तिको छुट्टै मुद्दामा छानबिन गर्दै आइरहेको छ। अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि पौडेल स्थायी बसोबास गर्ने गरी अमेरिकामा नै जाने तयारी गरिरहेका थिए । त्यस क्रममा पौडेलले विभिन्न समयमा अनियमितता गरी आर्जन गरेको एक अर्बभन्दा बढी रकम अमेरिका, सिंगापुर, दुबईलगायतका बैंकमा पुर्याएका थिए।
अख्तियारले अकुत सम्पत्तिबारे छानबिन गरिरहँदा पौडेलले करोडौं नेपाली रुपियाँ विदेशका बैंकमा लैजाने क्रम जारी राखेको सूचना पाएपछि उनलाई माघ १० गते पक्राउ गरिएको थियो। अख्तियारका एक अनुसन्धान अधिकृतले भने– ‘भ्रष्टाचार गरेर कमाएको सबै पैसा विदेश पठाएर अमेरिका जाने अन्तिम तयारी गरेको सूचना आएपछि हामीले उनलाई पक्राउ गरी हिरासतमा लिएका हौं ।’ ती अधिकृतले विभिन्न अध्ययन अनुसन्धानको क्रममा पौडेलले १ अर्बभन्दा बढी रकम विदेशमा पठाएको पाइएको बताए ।
बयानमा पौडेलले कुनै पनि विषय थाह नपाएको जस्तो गरी नखुलेपछि अख्तियारका अधिकारीहरूलाई पौडेलको बयान लिन भने निकै सकस परिरहेको छ । प्रविधिको प्रयोग गरि उनीसँग केही सूचना लिने तयारी गर्दा त्यो सिस्टम नै ह्याक गराइदिने गरेको दाबी अख्तियारका अधिकृतको छ । ती अधिकृत भन्छन्– ‘प्रविधि प्रयोग गरी अनियमितता गर्न उनी खप्पिस देखिएको पाइएको छ ।’
स्रोतका अनुसार पौडेल केन्द्रको उपकरणलगायतका खरिदमा भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका बेला अमेरिका पुगेर श्रीमतीको नाममा घर जोडेर फर्किएका हुन् । उनले २०७७ सालको पुसमै अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति (एलपीआर) लिइसकेको समेत स्रोतले जानकारी दिएको छ। उनले श्रीमती एलिनाको नाममा ६३७० तुलिपउड एल एन जेम्सभिल्ले, न्युयोर्क, १३०७८ अमेरिकामा घर खरिद गरेको पाइएको हो। खरिद गरेको घरको मूल्य ५ लाख १५ हजार अमेरिकी डलर परेको कागजातसमेत भेटिएको छ। उनले बंगाला खरिद गर्दा झण्डै आधा रकम पहिला नै बुझाइसकेका थिए ।
अमेरिकाको न्युयोर्कस्थित अपस्टेट मेडिकल युनिभर्सिटीको क्यान्सर सेन्टरमा कार्यरत श्रीमती एलिना सो अस्पतालमा जोडिनुअगाडि नै घर जोड्ने काम भएकाले सो रकम विकलकै भएको दाबी स्रोतको छ। स्रोतका अनुसार विकलले सिंगापुर र दुबईका बैंकहरूमा खाता खोलेको र नेपालमा गरेका खरिदको कमिसन उतै बुझ्ने गरेका थिए। सन् २०२१ जनवरी ६ मा अमेरिकाको एलपीआर पाएका विकलले त्यसको ९ महिनापछि सेप्टेम्बर २८ मा न्युयोर्कको प्राइम लोकेसनमा घर जोडेका थिए ।





