काठमाडौँ : जन्मदर्ता सिफारिस लगायतको प्रमाणपत्र किर्ते गरी अर्काकी छोरीलाई आफै नक्कली बाबु बनेर नागरिकता दिलाएका वीरगंज महानगरपालिका मेयर राजेशमान सिंह कारबाहीबाट जोगिन विभिन्न शक्तिकेन्द्र धाइरहेका छन्।
जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७५ साउन १३ गते रिता भट्टराई नाम गरेकी महिलाको छोरी रुबिना श्रेष्ठलाई आफै नक्कली बाबु बनेर नागरिकता दिलाएका मेयर सिंह कारबाहीबाट जोगिन शुक्रबार दिनभर जसो सिंहदरबारका विभिन्न मन्त्रालयका मन्त्री, सचिव तथा प्रधानमन्त्री कहाँ पुगेका थिए।
सिंहदरबार पुगेका मेयर सिंहले नागरिकता, जन्मदर्ता लगायतको किर्तेबाट जोगाए जसपा परित्याग गरी यहाँकै पार्टीमा पार्टी प्रवेश गर्ने वाचा सहित विभिन्न मन्त्रालय धाएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। मेयर सिंहले वीरगंज उप–महानगरपालिका हुँदा २०७१ कार्तिक २० गते स्थानीय पञ्जीकाधिकारीको किर्ते हस्ताक्षर र किर्ते छाप गरी आफै बाबु बनेर रिता श्रेष्ठ नाम गरेकी महिलालाई आमा बनाएर २०५९ असार ३० गते जन्म भएको रुबीना श्रेष्ठलाई किर्ते जन्म दर्ताबाट छोरी बनाएका थिए।
उक्त किर्तेमा समेत नेपाली र अङ्ग्रेजी जन्मदर्ता प्रमाणपत्रमा पञ्जिका अधिकारी भिखारी रायको हस्ताक्षर फरक-फरक छन् जसलाई पञ्जिका अधिकारी राय आफैले आफ्नो किर्ते हस्ताक्षर मेयर सिंहले गरेको बयान दिएका थिए। किर्ते माथि किर्ते गरेका मेयर सिंहको अनुसन्धान चलिरहेकै दैरानमा प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, जसपा अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री सरोज यादव, नेकपा एमाले, नेपाली कांग्रेस लगायतका वरिष्ठ नेता लगायतसँग हारगुहार गरिसकेका छन्।





