काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले माओवादीको विधान सम्मेलनबारे चार बुँदे टिप्पणी गरेका छन्। उनले पुरानै विधानलाई डेन्टिङ पेन्टिङ गरिएको आरोपसमेत लगाएका छन्।
विधानले पार्टीको विचार र राजनीतिलाई संगठन, नेतृत्व, शैलीमा ढाल्ने र जनतासँग जोडेर कार्यदिशा कार्यान्वयन गर्न सहयोग गरे पनि पार्टीको संगठनात्मक सिद्धान्त, ढाँचा र शैलीमा कुनै नयाँ क्रमभंगता नदेखिने प्रष्ट पारेका छन्। स्टालिनको पालादेखि भ्रष्टीकृत भइसकेको ‘जनवादी केन्द्रीयता’लाई डेन्टिङ पेन्टिङ गरेर विधानलाई निरन्तरता दिइएको उनको भनाइ छ। ‘अहिलेको बहुवर्गीय अर्थ-राजनीतिक परिवेश र डिजिटल प्रविधिको युगमा त्यस्तो ब्यूरोक्रेटिक संगठनात्मक ढाँचा र अतिकेन्द्रीकृत नेतृत्व प्रणालीले मामाओवादी केन्द्रलाई घरको न घाटको बनाउने प्रबल सम्भावना छ,’ उनले भनेका छन्।
यस्तो छ ४ बुँदे टिप्पणी
१.निरन्तरतामा क्रमभंगताको अभाव
नेपालमा माओवादी आन्दोलनको चमत्कारिक उदय, विकास र शान्तिपूर्ण रूपान्तरणको मूल कारण वा रहस्य भनेकै वस्तुगत र आत्मगत परिस्थितिको ठोस मूल्यांकनको आधारमा विचार, नीति, कार्यक्रम र व्यवहारमा निरन्तरतामा क्रमभंग गर्ने र नयाँ पहल गर्ने सोंच, साहस र शैली हो। तर, वर्तमान माओवादी नेतृत्वमा संविधानसभाबाट नयाँ संविधान जारी भएयता चुनावदेखि चुनाव र सत्तादेखि सत्ताको राजनीतिको निरन्तरताबाहेक अरू केही देखिएको छैन र अहिलेको विधान अधिवेशन पनि त्यसैको निरन्तरता मात्र देखियो।
२. विचारको बन्ध्याकरण र सारसंग्रहवाद
राज्यको संविधान र दलको विधानको प्रस्तावनाले राज्य र दलको वैचारिक-राजनीतिक दिशा प्रष्ट्याउँछ। माकेको नयाँ विधानको प्रस्तावनामा कुनै सिर्जनशीलता, नयाँपन,प्रष्टता छैन, बरू पुरानै विचार र केही नयाँ शब्दावलीहरूको सारसंग्रहवादी ककटेलमात्र छ। उदाहरणको निम्ति ‘मार्क्सवाद-लेनिनवाद-माओवाद’ (मा-ले-मा)लाई पार्टीको निर्देशक सिद्धान्त मान्ने जनयुद्धकालीन सोंच र बहुदलीय प्रतिस्पर्धी राजनीतिाटै ‘समाजवाद’को यात्रा गर्ने पछिल्लो कार्यदिशालाई घालमेल गरिएको छ। मा-ले-मा को शास्त्रीय वा प्रचलित अर्थ ‘सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति’ हो। यसरी एकै साथ दुई वैचारिक डुंगामा चढेर पुग्ने कता हो? ‘सेतो’ भनेको ‘कालो’ हो भनेर कार्यकर्ता र जनतालाई ठग्न मिल्छ?
३.संगठनात्मक डेन्टिङ पेन्टिङ
विधानले पार्टीको विचार र राजनीतिलाई संगठन, नेतृत्व, शैलीमा ढाल्दछ र जनतासँग जोडेर कार्यदिशा कार्यान्वयन गर्न सहयोग गर्दछ। परन्तु मा-केको संगठनात्मक सिद्धान्त, ढाँचा र शैलीमा कुनै नयां क्रमभंगता छैन। बरू स्टालिनको पालादेखि भ्रष्टीकृत भैसकेको ‘जनवादी केन्द्रीयता’लाई अलिकति डेन्टिङ पेन्टिङ गरेर निरन्तरता दिएको छ। अहिलेको बहुवर्गीय अर्थ-राजनीतिक परिवेश र डिजिटल प्रविधिको युगमा त्यस्तो ब्यूरोक्रेटिक संगठनात्मक ढाँचा र अतिकेन्द्रीकृत नेतृत्व प्रणालीले मा-केलाई घरको न घाटको बनाउने प्रबल सम्भावना छ।
४.भावनात्मक दोहन मात्र नहोस्
अतः मा-के नेतृत्वले यस्तो दोधारे, अस्पष्ट सोंच,नीति र शैली अवलम्वन गरेर ऐतिहासिक जनयुद्ध र त्यसका महत्वपूर्ण राजनीतिक उपलब्धीहरूहरूको भावनात्मक दोहन गर्दै संसदीय राजनीतिक खेलमा टिकिरहने निरर्थक प्रयास गर्नुसट्टा युगानुकूल विचार, राजनीति, संगठन, नेतृत्व, शैलीको छलाँगमय विकास गर्दै एक्काइसौं शताब्दीमा समाजवादको नयाँ मोडेल र बाटो निर्माण गर्नेतर्फ ध्यान दिने हो कि?





