विराटनगर : मुलुककै जेठो उद्योग विराटनगर जुट मिल्समा मंगलबार राति शंकास्पद हिसाबले आगलागी भएको छ। आगलागीमा २० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
विराटनगर हानगरपालिका–१६ मा रहेको जुट मिल्स २०७८ साल माघदेखि बन्द अवस्थामा रहेको छ। मिल्सका सुरक्षा कमाण्डर पप्पु सुब्बाका अनुसार जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने ‘स्वप्नर ब्लिचिङ डिपार्ट’बाट राति ९ बजेतिर अचानक आगलागी सुरु भएको थियो। आगोले जुटका बोरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ पूर्णरूपमा जलेको जानकारी उनले दिए। मिल्सका २ वटा मेसिनमा समेत आंशिक क्षति पुगेको सुब्बाको भनाइ छ। उनका अनुसार आगालागीको कारण खुलेको छैन। आगलागीमा २० लाख बराबरको क्षति भएको उनको भनाइ छ।
नेपाल एवं सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र विराटनगर महानगरपालिकाबाट गएको दमकलको सहयोगमा बुधबार बिहानका राति १ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो। आगो नियन्त्रणका लागि नेपाल प्रहरीका तर्फबाट इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर सन्दीप बेलबासेको नेतृत्वमा टोली परिचालन गरिएको थियो। प्रहरीका अनुसार बन्द अवस्थामा रहेको जुटमा एक्कासि आगलागी हुनुले घटना शंकास्पद देखिएको छ। जुट मिल्सको विषयलाई लिएर पुराना कर्मचारी र व्यवस्थापनबीच बेलाबेला विवाद हुने गरेको पाइएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार कुनै व्यक्तिले आगो लगाएको हुनसक्ने अनुमान छ। घटना शंकास्पद देखिएपछि विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। मिल्सका सुरक्षा कमाण्डर सुब्बाले घटनाको प्रकृति हेर्दा नियोजित ढंगले आगो लगाइएको प्रष्ट हुने बताए। ‘केही समयभित्रमै जुट मिल्स सञ्चालन गर्ने कुरा आइरहेको थियो,’ उनले भने, ‘मिल्स चल्न दिन नचाहनेले घटना गराएको हुनसक्छ।’