काठमाडौं : बुधबार पनि नेप्से परिसूचक घटेको छ।
बिहीबार, आइतबार, मंगलबार र बुधबार गरी नेप्से लगातार चार दिन घटेको हो। यसदिन नेप्से ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा बन्द भएको छ।
बुधबारको बजारमा २ अर्ब २४ करोड ५४ लाख २२ हजार १९६ रूपैयाँको सेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् मंगलबार ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रूपैयाँको सेयर कारोबार भएको थियो। मंगलबारको तुलनामा आज कारोबार रकममा ८७ करोड रूपैयाँ कमी आएको हो। यस दिन ३१३ वटा धितोपत्रको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ८० कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ वटाको घटेको छ। यस्तै, ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यसदिन बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त र हिमालयन ऊर्जाको सेयरमूल्य १० प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः १२ हजार ३९३ रूपैयाँ ८० पैसा र एक हजार ९७८ रूपैयाँ ५० पैसा र ३३५ रूपैयाँ कायम भएको छ।
यस्तै, बोटलर्स नेपाल (तराई) को सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य १३ हजार १९४ रूपैयाँ पुगेको छ।
पिपुल्स हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ७.८४ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य ३४८ रूपैयाँमा झरेको छ। यस्तै, हिमालयन हाइड्रोपावरको सेयरमूल्य ४.२६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३२८ रूपैयाँ कायम भएको छ।
बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ६३३ रूपैयाँ २० पैसामा ११ करोड १२ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.५८ प्रतिशत घटेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआइसी एशिया बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४४० रूपैयाँमा ६ करोड २६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक २.८४ प्रतिशतले बढेको छ भने बाँकी १२ समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
बाँकी सबै समूह १ प्रतिशतभन्दा कमका दरले घटेको छ।