काठमाडौं : बुधबार बिहान काठमाडौंको सितापाइलामा परिवारको सामूहिक हत्यापछि झुण्डिएर आत्महत्या गरेका राजु घिमिरे भन्ने काजी विश्वकर्माको मोबाइलबाट प्रहरीले घटनाबारे जानकारी दिने भिडिओ फेला पारेको छ ।
काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार काजीले घटनापछि उक्त भिडिओ रेकर्ड गरेको देखिन्छ । भिडिओमा काजीले श्रीमती ईश्वरी श्रेष्ठलाई अनैतिक सम्बन्धबारे आरोप लगाएका छन् ।
प्रहरीले प्राप्त गरेको भिडिओमा उनले भनेका छन्, ‘मैले हिजो बेलुका भनेको काम गरिसकेको छु, मैले भनेको सबै कुरा भइसक्यो, यो भिडिओ सुनेर रमेशलाई र चितवनको केटालाई छाड्ने होइन, रमेशबारे पनि सबै कुरा तँलाई थाहा रहेछ (बुहारी), तैँले सबै कुरा किन गुपचुपमा राखिस् ? पहिल्यै सबै कुरा मलाई भनेको भए आज यो घटना नै हुने थिएन, तैले मलाई पहिले नै केही कुरा भनिनस्, त्यही भएर मैले यस्तो निर्णय गरेँ, मैले बाँचेर गरी खाने ठाउँ भएन, त्यही भएर मैले यस्तो निर्णय गरेको छु ।’
यस्तै, भिडिओमा ‘तिमीहरू मिलेर गरिखानू, ममीजस्तो भएर नहिँड्नु, त्या अनिशलाई चाबी र कागजपत्र जिम्मा दिएको छु, अनिशबाट तैले लिनु, कसैलाई पनि नदिनु चाबी, सुन सबै दराजमै छ, अनिशलाई हेला नगर्नू,नत्र राम्रो हुँदैन,’ भनिएको छ ।
काजी र ईश्वरीका दुई जना छोराछोरी थिए । ईश्वरीको पहिलाको श्रीमानतर्फका एक छोरा र छोरीलाई काजीले स्वीकार गरेर आफैसँग राख्दै आएका थिए । ईश्वरीको पहिलाको श्रीमानतर्फको छोराकी दुई वर्षीय छोरी र आफ्नी आठ वर्षीय छोरीको हत्या गरेर काजीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।