नवलपरासी : नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–२ भृकुटी चोकमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा बिरामीको मृत्यु भएको छ।
आइतबार बा.प्र ०६००१ ख ०१९६ नम्बरको बसले ना.३६ प ९०४५ नम्बरको स्कुटरलाई ओभरटेक गर्ने क्रममा ग.१ च ७१५२ नम्बरको एम्बुलेन्समा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा एम्बुलेन्समा सवार डाइलोसिसका बिरामी मध्यबिन्दु नगरपालिका–१२ बस्ने ७५ वर्षीय मान बहादुर कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार पश्चात डिस्चार्ज भएको छ भने एम्बुलेन्समा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। बस र एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।





