मानसरोवर जाने मार्ग खुलाउन पहल

२०८० फाल्गुन १४, सोमबार

म्याग्दी : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको कोरला नाका हुँदै प्रसिद्ध धार्मिक स्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन चीन सरकारसँग पहल भएको बताएका छन्  । कालीगण्डकी कोरिडोर हुँदै मुक्तिनाथ र दामोदरकुण्ड दर्शनका लागि पुगेका धार्मिक पर्यटकलाई कोरला नाका हुँदै कैलाश मानसरोवर पुग्ने वातावरण मिलाउन प्रदेश सरकारले आवश्यक पहल थालेको उनको भनाइ थियो ।

बागलुङको पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको पाँचौँ दिन आइतबार आयोजना गरिएको प्रादेशिक राजनीतिक र सुशासन विषयक सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले कालीगण्डकी कोरिडोर हुँदै प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ र दमोदरकुण्ड दर्शनका लागि पुगेका पर्यटकलाई कोरला नाका हुँदै कैलाश मानसरोवर पुग्ने वातावरण मिलाउन प्रदेश सरकारले तिब्बत र चीन सरकारसँग आवश्यक कुराकानी गरिरहेको बताए । कोरला नाकाबाट छोटो समय र सजिलै कैलाश मानसरोवर पुग्न सकिने भएकाले प्रदेश सरकारले यसबारे प्राथमिकतामा राखेर पहल गरेको उनको भनाइ छ ।

“बेलाबखत हुने यस्ता महायज्ञले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण योगदान दिन्छ,” उनले भने, “अहिले धार्मिक कुरा गरेर केही व्यक्तिले सामाजिक सद्भाव भड्काउने प्रयास गरिरहेका छन् । सबै धार्मिक भावनालाई सहिष्णुताका साथ जोड्ने, राजनीतिक नेताहरूलाई सत्प्रेरणा दिन र अनुशासित समाज निर्माण गर्न महायज्ञले सहयोग पु¥याउने विश्वास छ ।”

गण्डकीमा सुशासन र भ्रष्टाचारका विषयमा कसैले प्रश्न गर्न नसक्ने गरी काम गरेको उन ले बताए । “जनतालाई सहज र सरल रूपमा सेवा प्रवाह गर्न प्रदेश सरकार प्रतिबद्ध छ । गण्डकीमा भ्रष्टाचार र अनियमितता भयो भनेर कसैले हामीमाथि औँला ठड्याउन सक्दैनन्, प्रश्न गर्न सक्दैनन् । प्रदेश सरकारका कारण नागरिकको शिर झुक्ने अवस्था उत्पन्न हुने छैन,” उनले भने । प्रदेशमा सुशासनको प्रत्याभूति दिने गरी सरकारले काम गरेको उनको भनाइ थियो । गण्डकीभित्रका सबै धार्मिक तथा पर्यटकीय स्थलको विकास र प्रवर्धनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उनले बताए । “गण्डकी सरकारको दोस्रो पञ्चवर्षीय योजना बन्दै छ । पर्यटन, जलविद्युत् र कृषि क्षेत्रको विकासमार्फत गण्डकीलाई आत्मनिर्भर र सम्मानित प्रदेश बनाउने लक्ष्य लिएका छौँ,” उनले भने ।

पञ्चकोटलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न प्रदेश सरकारले हरेक वर्ष प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने मुख्यमन्त्री पाण्डेले प्रतिबद्धता जनाए । कार्यक्रममा प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारी, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले सुशासनका क्षेत्रमा भएका उपलब्धिबारे बोलेका  थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार