अख्तियार र आयोगले डामेका मन्त्रीलाई घर पठाइदिऊँ: गगन थापा

२०८० फाल्गुन १४, सोमबार

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगन थापाले अख्तियार र आयोगले डामेका मन्त्रीहरूलाई घर पठाउनुपर्ने बताएका छन्।प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले केही दिनदेखि संसदमा एकअर्कालाई दागी देखाउने काम भइरहेको पनि बताए।

‘विगत केही दिनदेखि यताकोले उता बसेकाको दागी देखाउने, उताकाले यता बसेकोलाई दागी देखाउने दोहोरी चलिरहेको छ,’ थापाले भने, ‘यही पाराले त न संसद राम्रोसँग चल्ने भयो, मूल विषय पनि छायाँमा पर्ने भयो।’उनले अख्तियार र आयोगले डामेका झण्डावाला (मन्त्री) लाई घर पठाउनुपर्ने बताए।

‘आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस्। अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइदिऊँ,’ सांसद थापाले भने।

केही दिनदेखि संसदमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किरातीको राजीनामा माग भइरहेको छ।उनले छानबिनबाट निर्दोष भएकालाई स्वागत गर्ने र दोषी भएकालाई दण्ड दिनुपर्ने बताए।

‘सहकारी ठग्ने। दुई-चार थान नागरिकता राख्नेलाई पनि यहाँ राख्ने घरै पठाइदिएर अनुसन्धान गर्न लगाऊँ। यत्ति गर्न सके के होला?,’ उनले भने, ‘निर्दोष भए फर्केर आउनुहोला, फूलमाला लगाएर स्वागत गरौंला। दोषी भए दण्ड बेहोर्नुहोला।’ उनले अलिअलि सफा गर्न सके मिटरब्याज, दुग्ध किसानले मूल्य नपाएका र एनसेल प्रतिवेदनका बारेमा संसदमा सार्थक छलफल गर्न सकिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार