उर्लाबारी : मोरङको मिक्लाजुङ–४, हात्तीमारा सिरानका २३ वर्षीय रोहित तामाङ फागुन ९ देखि एउटा रुखको टोड्कामा ध्यान गरेर बसिरहेका छन् ।
घरबाट पूर्वोत्तरमा रहेको विशाल मैनाको रुखमुनि उनी ध्यानमग्न छन् । रुखको तल्लो भागमा आगो लागेर ठुलो टोड्को परेको छ । त्यही टोड्काभित्र गौतम बुद्धको तस्बिर राखेर उनी तपस्यामा छन् । रोहितका साथी निशान राईका अनुसार शनिबार बिहान ६ बजे स्थानीय पुग्दा रोहित ध्यानमा थिए । ११ बजे सञ्चारकर्मीको टोली पुग्दा पनि उनी स्थिर रूपमा ध्यानमा मग्न भेटिए ।
घरमा भाइसँग बस्दै आएका रोहितकी आमाले दोस्रो विवाह गरेका छन् भने बाबु लोकबहादुर कान्छी लिएर बसेका छन् । अविवाहित रोहितले कक्षा १० सम्म अध्ययन गरेका छन् । रोहितले गत माघ १० देखि एकाएक आफूलाई अध्यात्ममा लगाएको उनका भाइ लबिन तामाङले बताए । भाइ लबिनका अनुसार रोहितले माघ १० देखि आफन्त, साथीभाइ सबैलाई तपाईं भन्न थाले । कोहीसँग ठट्टा नगर्ने, धेरै नबोल्ने, चाहिएको मात्र बोल्न थालेका उनले बौद्ध धर्मको अनुयायी बनेर २७ औँ धर्मकुण्डली सफाइ गर्ने भन्दै ध्यान सुरु गरेको भाइ लबिनले बताए । स्थानीय छिमेकी र आफन्तसमेत उनको दिनचर्या परिवर्तन भएको देखेपछि चकित भएका छन् ।
मिक्लाजुङ–४ का वडाध्यक्ष विशाल राईले रोहितको दिनचर्या एकाएक परिवर्तन भएपछि समाज नै चकित परेको बताए । उनले भने, “पहिले पनि उनी औसत मानिस जस्तै नियमित काम गर्ने, खाने गर्थे । उनमा कुनै मानसिक समस्या थिएन । शुक्रबार बेलुकीपख मैनाको विशाल रुखका हाँगा हाँगामा केही पनि नसमाइकन हिँडेको देखेपछि हामी पनि अचम्मित भएका छौँ । त्यो रुखमा चढ्न नै गाह्रो छ । चढेर हाँगा हाँगामा हिँड्न झन् गाह्रो छ । जादुगर जसरी हिँडेको देखेपछि हामी पनि चकित भएका छौँ ।” स्थानीयका अनुसार रोहितले फलफूलबाहेक केही खानुभएको छैन । रुखका हाँगा हाँगामा कुदिरहँदा लड्लान् कि भन्ने चिन्ता थपिएको स्थानीय रेखा राईले बताए ।





