विराटनगर : सुनसरीको इटहरीमा आगलागीमा परि एक जना महिलाको मृत्यु भएको छ । इटहरी स्थित बिपी चोकमा रहेको विष्णु खड्काको घरमा मध्य राति भएको आगोलागीमा परि ५२ वर्षीया गोपीमाया कट्टवालको मृत्यु भएको हो ।
कटुवाल सुतेको कोठामा आगलागी भएको थियो । आगोले कोठामा भएका सबैजसो सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । अर्को कोठामा उनका छोराबुहारी सुत्ने गरेका थिए । उनीहरुले आगो कोठामा फैलिसकेपछि मात्र आफूहरूले थाहा पाएको प्रहरीलाई बताएका छन् । प्रहरी र स्थानीय बासिन्दा मिलेर दमकल प्रयोग गरी आगो निभाइएकाले अन्यत्र फैलन नपाएको जनाइएको छ ।
के कारणले आगलागी भएको हो भन्ने खुलेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।





