काठमाडौँ : परराष्ट्रमन्त्री एनपी साउदले भूतपूर्व गोर्खा सैनिकलाई बेलायती सेनाको समान पेन्सनलगायतका सुविधा दिनुपर्नेमा नेपाल सरकारको अडान कायम रहेको र त्यहाँको सरकारलाई स्पष्टसँग राखिएको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा परराष्ट्रमन्त्री साउदले भूपू गोर्खा सैनिकको न्याय र समानताका माग सम्बोधनका लागि बेलायत सरकारलाई दबाब दिइरहेको र वार्ता भइरहेको जानकारी दिए । ‘पुरानो मुद्दा छाड्न मिल्ने अवस्था छैन । नेपाल सरकार पूर्व गोर्खाहरूको न्यायोचित माग पूरा होस् भनेर लगातार मुद्दा उठाइरहेको छ,’ उनले भने, ‘निरन्तर दबाब हामीले कायम राखिराख्नुपर्ने परिस्थिति छ । यो दबाब कायम राखिराख्छौ । यसका लागि तीन चरणमा वार्ता भइरहेको छ । मार्चमा फेरि वार्ता हुन्छ, सरकारको अडान कायमै छ ।’
परराष्ट्रमन्त्री साउदले केही दिन पहिले बेलायतका विदेश राज्यमन्त्री नेपाल आउँदा पनि भूपू गोर्खाका विषयमा नेपालले आफ्नो पक्ष स्पष्ट राखेको बताए । नेपाल र बेलायतबीचको सम्बन्धबारे भूपू गोर्खा सैनिक पनि रहेको कुरा बेलायती विदेशराज्यमन्त्रीलाई भनेको मन्त्री साउदले समितिलाई जानकारी दिए । ‘भूपू गोर्खाहरूलाई आर्थिक र सुविधाका रूपमा मात्रै मूल्यांकन नभई ब्रिटिस सरकारले अन्य सुविधाका रूपमा पनि मूल्यांकन गर्नुपर्छ भनेका छौं,’ उनले भने ।
भूपू गोर्खाका माग पूरा गर्नेबारे नेपाल सरकारले बेलायती पक्षसँग निरन्तर छलफल गरिराखेको मन्त्री साउदको भनाइ थियो । भूपू गोर्खा सैनिकको समान पेन्सन तथा सुविधाका विषयमा अदालती प्रक्रिया जारी रहेको र आन्दोलन पनि चलिरहेको उनको भनाइ थियो । सन् २००७ भन्दा पहिले र सन् १९९७ पछि सेवा निवृत भएका गोर्खा सैनिकहरूको सम्बन्धमा मात्रै पेन्सनलगायतका समस्या रहेको मन्त्री साउदको भनाइ थियो ।
भूपू गोर्खा सैनिकका पेन्सन, औषधिउपचार लगायतका सुविधा एकै वार्तामा समाधान हुन नसक्ने मन्त्री साउदको भनाइ थियो । उनले भने, ‘एकै दिनमा टुंग्याउनेभन्दा पनि दबाब सिर्जना गरिराख्नुपर्ने आवश्यकता देखेको हुनाले निरन्तरता दिएका छौं ।’ बेलायती विदेशराज्यमन्त्री र त्यहाँका सेनापतिसँग पनि भूपू गोर्खाहरूको विषयमा समाधान गर्ने गरी वार्ता भइरहेको उनले जानकारी दिए ।





