काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले शक्ति पृथकीकरणको सिद्धान्त बुझ्न नसकेको बताएका छन् । आइतबार संसद् भवनमा पार्टीका सांसदहरुलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।
उनले वर्तमान सरकार अलोकतान्त्रिक भएको र शक्ति पृथकीकरणको सिद्धान्तसमेत बुझ्न नसकेको बताए । ‘यस्तो बेहालको अलोकतान्त्रिक र शक्ति पृथकीकरणको वास्तवमा सिद्धान्तै नबुझेको । यसस्तरको सरकार, यसस्तरको अर्थमन्त्री र अर्थमन्त्रीलाई के लागेको छ भने अर्थमन्त्री यस्तो डिक्टेटर हो, जसले नियम कानून, मर्यादा, प्रचलन आदि केही हेर्नुपर्दैन भन्ने लागेको छ,’ ओलीले अर्थमन्त्रीबारे थप टिप्पणी गर्दै भनेका छन्, ‘न अर्थमन्त्री कसैसँग परामर्श गर्नुहुन्छ, न केही गर्नुहुन्छ । सुनेको, अर्थशास्त्रमा पिएचडी गर्नुभएको भन्ने, कुन अर्थशास्त्रमा कहाँबाट पिएचडी गर्नुभएछ ? अचम्म लाग्छ । देश ओरालो लगाउने, असफल भएका थोत्रा सिद्धान्त बोकेर, ०४८, ०५० सालमै असफल भइसकेको सिद्धान्तहरु फेरि दोहोर्याउन खोजिएको छ । यो सरकार बन्नु नै नहुने सरकार थियो ।’
उनले देशको अर्थतन्त्र ओरालो लगाएको आरोप लगाए । उनले वर्तमान सरकार बन्न र चल्नै नहुने सरकार रहेको दाबी गरे । अध्यक्ष ओलीले सरकार कसैले बनाइदिएर कसैले टिकाइदिएर चल्न नसक्ने धारणा राखे ।





