
काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सँगै मिलेर जान आग्रह गरेका छन् । स्रोतका अनुसार बुधबार बिहान नेपाल निवास कोटेश्वर पुगेका देउवाले ‘प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिए, अब सँगै मिलेर अगाडि जाउँ’ भनेका थिए ।
यसको जवाफमा अध्यक्ष नेपालले आज दिउँसो बस्ने केन्द्रीय सचिवालय बैठकमा कुरा राख्ने जानकारी दिए । माधव नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘ यसबारे आजको बैठकमा कुरा राखेर छलफल गर्छौं । के हुन्छ अनि मात्रै भन्न सकिन्छ ।’
मंगलबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नेपाल निवासमा पुगेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । नेकपा (एकीकृत समाजवादी)ले नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने/नहुने विषयलाई टुंगो लगाउन आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ । कान्तिपुर