वीरगन्जका मेयर सिंहविरुद्ध पर्सा प्रहरीमा जाहेरी

२०८० फाल्गुन २४, बिहीबार

वीरगन्ज : वीरगन्जका मेयर राजेशमान सिंहसहित तीन जनाविरुद्ध सरकारी कागजात किर्ते गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पर्साले फौजदारी अभियोगमा जाहेरी दर्ता गरेको छ।

झुटा विवरण पेश गरी एक किशोरीलाई वंशजको नागरिकता दिलाएको आरोपमा उनीविरुद्ध परेको जाहेरी प्रहरीले बिहीबार दर्ता गरेको हो। गृह मन्त्रालयको नेतृत्व परिवर्तन हुने बित्तिकै पर्सा प्रहरीले महानगर प्रमुखविरुद्धको जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी कुमारविक्रम थापाले प्रमुख सिंहविरुद्ध लियाकत अलीले किर्ते सम्बन्धमा जाहेरी दिएको सुनाए।

वीरगन्ज महानगरपालिका वडा नम्बर-३ बाट २०७१ कात्तिक २० गते जन्म दर्ता बनाई रूविना श्रेष्ठको नागरिकता बनाएको भन्दै सिंहमाथि उजुरी परेको थियो। जिल्ला प्रशासनको अभिलेखमा २०७५ साउन १३ गते नागरिकता लिएको र २०७६ फागुन ८ मा प्रतिलिपि लिएको देखिन्छ। प्रहरीले यस सम्बन्धमा अब अनुसन्धान गर्ने जनाएको छ।

मुलुकी अपराध संहिता २०७४ ले सकैले किर्ते गर्न नहुने भन्दै लिखत किर्ते सम्बन्धमा परिभाषा गरेको छ। कसुर प्रमाणित भएमा संहिताको दफा २७६ को उपदफा (३) को (ग) ले सात वर्ष कैद र सत्तरी हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार