प्रधानमन्त्रीलाई कांग्रेसको चेतावनी, तपाईंले धोका दिएका सबै मिले अवस्था के होला ?

२०८० फाल्गुन २५, शुक्रबार

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट ‘धोका’ पाएका दलहरू एक ठाउँमा उभिनसक्ने संकेत गरेको छ ।

यदि प्रचण्डबाट धोका भएका दलहरू एक ठाउँमा भए भने माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डको हालत के होला ? भनेर पनि कांग्रेसले प्रश्न गरेको छ । प्रतिनिधि सभाको विहीबारको बैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक-पटक दलहरूलाई धोका दिएको बताए । संसद्मा प्रचण्डलाई व्यंग्य गर्दै प्रमुख सचेतक लेखकले भने, ‘एक जनासँग मगनी, अर्कोसँग लगनगाँठो, तेस्रोसँग हनिमुन, चौथोसँग डेटिङ, पाँचौँसँग टाप ठोक्ने काम उथलपुथल होइन ।

यो शोभनीय हुँदैन । यो राजनीतिक बेइमानी हो । म त कुन निष्कर्षमा पुग्या छु भने अब धोका दिन कोही बाँकी रहेन । तर, एकचोटि सोच्नुस् यी जम्मै धोका पाएका एकदिन एक ठाउँमा उभिए तपाईंका विरुद्ध भने कहाँ पुग्नुहोला ? खालि ख्याल नगर्नुहोला, हेक्का राख्नुहोला ।’

‘तपाईंको उथलपुथल कति दिन रहन्छ, हेरौँला’
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डले जीवित छँदासम्म उथलपुथल गर्छु भनेर भनेको कुराप्रति ध्यानाकर्षण गराएका छन्।

प्रमुख सचेतक लेखकले उथलपुथल गर्छु भन्नेबारे इतिहासले देखाउने चुनौती दिँदै भने, ‘तपाईं मभन्दा बढ्ता देशलाई चाहिने नेता हो । जहाँसम्म उथलपुथलको कुरा गर्नुभएको छ नि, सबै मान्छेले सबै कुरा बुझिरहेका छन् । यो उथलपुथल कति दिन रहन्छ इतिहासले देखाउला । हेरौँला ।’ एक वर्षमा दुईपटक गठबन्धन फेरेको प्रधानमन्त्रीले पाँच वर्षमा १३ पटकसम्म गठबन्धन फेर्नसक्ने उल्लेख गर्दै लेखकले भने, ‘मैले क्याल्कुलेटरमा हिसाब गरेँ,गठबन्धन कतिपटक फेरिने रहेछ भनेर । यही गतिमा प्रधानमन्त्री हिँड्नुभयो भने झण्डै १३ पटक गठबन्धन फेरिने रहेछ ।

पाँच वर्षमा १३ पटक गठबन्धन फेर्ने, अनि आफूचाहिँ रहिरहने ?’ केही दिन अघिको सम्बोधनमा प्रधानमन्त्रीले प्रतिक्रियावादीले उपयोग गर्न खोजे आफू लात्ताले हानेर हिँड्ने भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै लेखकले भने, ‘प्रधानमन्त्रीले कसलाई लात्ताले हान्ने, किन हान्ने ? यो मेरो दुर्भाग्य हो कि देशको दुर्भाग्य हो ? जसको प्रधानमन्त्रीले मलाई लात्ताले हान्न सिकाउनुहुन्छ । यो विषयमा भोलिका दिनमा प्रधानमन्त्रीले जवाफ दिनुहोला ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार