जनकपुर : मधेश प्रदेशका शिवालयमा आराध्यदेव शिव भगवान्लाई बेलपत्र, धतुरोको फूल, दुध, याकको पात चढाएर शुक्रबार भव्य रूपमा महाशिवरात्रि पर्व मनाइएको छ ।
पूजाआराधना गर्न एकाबिहानैदेखि शिवालयहरूमा दर्शनार्थीहरूको भिड लागेको थियो । पूजाका लागि शिवालयहरूमा पुरुषभन्दा महिला श्रद्धालु भक्तजनको निकै बाक्लो सहभागिता देखिएको थियो । प्रदेशका प्रसिद्ध शम्भुनाथ, जलेश्वरनाथ, टुटेश्वरनाथ, लक्ष्मीनाथलगायत महादेव मन्दिरमा थेगी नसक्ने दर्शनार्थी भक्तजनको भिड लागेको थियो ।
महाशिवरात्रिको अवसरमा यस पटक महोत्तरीका शिवालयमा विगत वर्षको तुलनामा दर्शनार्थीको भिड बढ्यो । महोत्तरीका जलेश्वरनाथ र टुटेश्वरनाथका मन्दिरमा राति १ बजेदेखि नै दर्शनार्थीको लस्कर लागेको थियो । बर्दीबास–३, गौरीडाँडाको शिवमन्दिर, सोनमाको मङ्गलनाथ मन्दिर, गौशालाको भोलेबाबा मन्दिरलगायतका देवस्थलमा पनि शुक्रबार प्रातःकालदेखि नै शिवभक्तको भिड बढेको थियो । जलेश्वर महादेव मन्दिरमा साँझसम्म एक लाखभन्दा बढीलाई दर्शन गराइने व्यवस्था मिलाइएको महाशिवरात्रि मूल समारोह समितिले जनाएको छ । यसका लागि समितिले स्वयंसेवक परिचालन गरेको थियो भने नेपल प्रहरी र सशस्त्र प्रहरीले शिवालय परिसरमा विशेष सुरक्षा व्यवस्था मिलाएको जनाएका छन् ।
भारतदेखिका दर्शनार्थी आएकाले गत वर्षको तुलनामा शिवालयमा दर्शनार्थीको सङ्ख्यामा वृद्धि देखिएको छ । हातमा माला, जलपात्र, भन्टाको भार, धान बालाको झुप्पा बोकेर दर्शनार्थीहरू जलेश्वरनाथलगायत सदरमुकामबाहिरका गौरीडाँडा, मङ्गलनाथ, टुटेश्रनाथ, मेघनाथलगायतका शिवलायमा दर्शनका लागि पुगेका थिए ।





