काठमाडौँ : माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी पदाधिकारीको प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
माओवादी केन्द्रका एक पदाधिकारीले दिएको जानकारीअनुसार राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको हो । उनी राष्ट्रिपतिद्वारा मनोनित राष्ट्रिय सभा सदस्य हुन् । दाहालको कार्यकाल चार वर्षको रहेको छ । २०७८ मा दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए । सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन् ।
चितवन स्थायी ठेगाना भएका दाहाल २०३१ सालदेखि राजनीतिक दलमा सक्रिय रहेको संघीय संसद् सचिवालयले प्रकाशित गरेको ‘संघीय संसद् सदस्य विवरण, २०८०’ पुस्तकमा उल्लेख छ । त्यसअघि उनी २०२७ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय थिए । उनी २०५७ सालदेखि माओवादी केन्द्रीय सदस्य छन् ।
माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ मा दाहाल अन्तरिम व्यवस्थापिका संसद् सदस्य बनेका थिए । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा दाहाल चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।





