आज ग्याल्पो ल्होसार नै होइन, सरकारले दियो बिदा

२०८० फाल्गुन २८, सोमबार

ताप्लेजुङ : ग्याल्पो ल्होसार भन्दै सरकारले आज सार्वजनिक बिदा दिएको छ । राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले शुभकामना दिइरहेका छन् । तर शेर्पा समुदायले भने आज नभई गत माघ २७ गते नै ग्याल्पो ल्होसार मनाइसकेको बताएका छन् । उनीहरूले यस्तो त्रुटि नगर्न अनुरोध गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार शेर्पा पोसाक लगाएर जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ गएका नेपाल शेर्पा संघ जिल्ला कार्य समितिका अध्यक्ष पासाङ रिता शेर्पा, शेर्पा सञ्चार समूहका अध्यक्ष तेञ्जिङ शेर्पा, हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष मिङ्मा खाण्डु शेर्पा र नेपाल शेर्पा विद्यार्थी संघका अध्यक्ष मिङ्मा दिकी शेर्पा नेतृत्वको टोलीले आगामी दिनमा यस्तो त्रुटि नगर्न सरकारलाई सचेत गराएका छन् ।

महायानी बौद्धमार्गीहरूको सम्पूर्ण चाडपर्वहरू भोट चन्द्र पात्रोमा आधार मानी मान्ने मनाउने भएकाले आगामी दिनमा त्यही मितिअनुसार बिदा दिन पनि माग गरिएको छ । ‘आज ल्होसार नै होइन त्यसैले मनाउने कुरै भएन,’ पासाङ रिताले भने, ‘पञ्चाङ्ग निर्णायक समितिले आगामी दिनमा यस्ता गम्भीर त्रुटि नगरोस् भन्ने हाम्रो माग हो ।’ आज शेर्पा समुदायले ल्होसार नमनाएको उनले प्रस्ट्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार