काठमाडौँ : सत्ता साझेदार प्रमुख तीन दल, माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबिच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता सहभागी छन् । नेकपा एकीकृत समाजवादीले पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाए मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत र राष्ट्रिय सभा अध्यक्ष पदमा माओवादी उम्मेदवारलाई मत दिने चेतावनी दिएपछि सत्ता साझेदार तीन दलका शीर्ष नेताबिच भेटवार्ता भएको हो ।
एकीकृत समाजवादीको हिजो सोमबार बसेको संसदीय दलको बैठकले मागबारे सहमति गर्न मंगलबार ११ बजेसम्मको अल्टिमेटम दिएको थियो । आज ११ बजे राष्ट्रिय सभा अध्यक्षका लागि मतदान हुँदै छ ।





