सत्ता गठबन्धनका ५ दलबीच ७ बुँदे सहमति

२०८० फाल्गुन २९, मंगलवार

काठमाडौं : सत्ता गठबन्धनका पाँच दलबीच सात बुँदे सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा सात बुँदे सहमति भएको हो। यसअघि गत फागुन २१ गते नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच ८ बुँदे सहमति भएको थियो।

गठबन्धनमा थपिएको नेकपा (एकीकृत समाजवादी) समेतले आज फेरि सात बुँदे सहमति गरेका हुन्। पाँच दलबीच प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्ने र सफल पार्ने उल्लेख छ। राष्ट्रिय सभाको रिक्त रहेको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नारायणप्रसाद दाहाललाई समर्थन गर्ने भनिएको छ।

त्यस्तै नयाँ सरकार गठन प्रक्रियामा अन्य दलहरूसँग संवाद अघि बढाउने पनि सहमति भएको छ। सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुंग्याउने सहमति भएको हो।

संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने, देशका आर्थिक समस्याहरू सम्बोधन गर्दै राष्ट्रिय हित र लोकतन्त्रलाई सुदृढ बनाउन सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने र पाँच राजनीतिक दल राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिक-सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न सहमत भएको उल्लेख छ।

सहमति पत्रमा प्रधानमन्त्री दाहाल, एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्। यसअघि भएको सहमतिमा राष्ट्रिय सभा उपाध्यक्ष एमालेले पाउने उल्लेख भए पनि आजको सहमतिमा यो कुरा छैन।

430302018_928843101892824_4162892386371241333_n-1710225850.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार