दिल खोलेर भोलि प्रधानमन्त्रीलाई विश्वासको मत दिनूस् : केपी ओली

२०८० फाल्गुन २९, मंगलवार

काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले दिल खोलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्नो दलका सांसदहरूलाई निर्देशन दिएका छन् । विगतको अनुचित गठबन्धन फालेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उचित गठबन्धन बनाउन पहलकदमी लिएकाले मनमा कुनै शंका नराख्न उनको भनाइ थियो ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेता ओलीले देश अप्ठ्यारोमा पर्‍याे भन्ने ठानेर प्रधानमन्त्रीले वर्तमान गठबन्धनको पहल गर्नुभएकाले सबैले सहयोग गर्नुपर्ने बताए । ‘विगतमा प्रधानमन्त्रीले ठुल्ठूला गल्ती गर्नुभएको होला । तर, यसपटक अनुचित छोडेर उचित गठबन्धन बनाउन पहलकदमी लिनुभएको छ । नयाँ देशभक्त प्रगतिशील समाजवादउन्मुख जनमुखी नयाँ समीकरण निर्माण गर्ने प्रधानमन्त्रीको पहल स्वागतयोग्य छ,’ उनले भने ।

कांग्रेससँगको गठबन्धनमा प्रधानमन्त्रीको कुर्सी सुनिश्चित हुँदाहुँदै पनि प्रधानमन्त्रीले देशको पक्षमा नयाँ गठबन्धन गरेको जिकिर उनले भने । ‘कम्तीमा एक–डेढ वर्ष प्रधानमन्त्रीको कुर्सी सुनिश्चित थियो । तर, देश अप्ठ्यारोमा पर्‍याे भनेर उहाँले यो गठबन्धनको पहल गर्नुभयो । त्यसैले हामी सबैले उहाँलाई खुला हृदयले समर्थन गर्नुपर्छ, सहयोग गर्नुपर्छ ।’ दलका नेता ओलीले भोलि प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई विश्वासको मत दिन पनि निर्देशन दिए । उनले प्रधानमन्त्रीलाई विश्वासको मत नदिए देश अक्षमहरूको हातमा पुग्ने बताए ।

‘भोलि प्रधानमन्त्रीले विश्वासको मत पाउनुभएन भने संविधानको धारा ७६ को उपधारा २ को च्याप्टर क्लोज हुन्छ र राष्ट्रपतिले प्रमुख पार्टीको नेताको हैसियतले भोलि नै कांग्रेस सभापतिलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुहुन्छ,’ उनले भने, ‘त्यसपछि अल्पमतको, अयोग्य, दृष्टिकोणविहीन, स्वाभिमानहीन, भवितव्यले आइलागेको, कुनै संकल्प नभएको सरकार बन्छ । हामीले त्यस्तो सरकार बन्न दिनुहुँदैन । देशलाई अस्थिरतातर्फ जानबाट जोगाउन प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्छ ।’

उनले कांग्रेसको दृष्टि सरकारमा मात्र रहने गरेको चर्चा पनि गरे । ‘अर्जुनले चरोको आँखो मात्र देखेजस्तो सरकार मात्र देख्ने, अरू केही नदेख्नेहरू छन् । उनीहरूको अल्पमतको सरकार बन्यो भने देश कता जान्छ ? त्यसैले मनको कुनामा कुनै चित्तदुखाइ नराखी दिल खोलेर विश्वासको मत दिन्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार