जथाभाबी खर्च रोक्दा प्रधानमन्त्री ममाथि खनिए : महत

२०८० फाल्गुन २९, मंगलवार

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै न कुनै आशयका साथ गठबन्धन फेरेको आरोप लगाएको छ। मंगलबार पत्रकार सम्मेलन गरेर कांग्रेसले पटक-पटक गठबन्धन फेर्ने प्रचण्डको प्रवृत्तिमाथि प्रश्न उठाएको हो।

‘निर्वाचनपछि प्रचण्डजीले तीनपटक गठबन्धन परिवर्तन गर्नुभयो। प्रचण्डजीको यो प्रवृत्तिजन्य निर्णय कुनै आशयका साथ भएको देखिन्छ,’ पूर्वअर्थमन्त्री समेत रहेका कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने। कांग्रेस महासमितिमा उठेका विषय बहानाबाजीमात्र रहेको महतले प्रस्ट पारे। ‘प्रचण्डजीले कांग्रेसको महासमिति बैठकमा आएका धारणा, कोशी प्रदेशको कुरालाई उल्लेख गर्नुभएको छ। तर, हाम्रो निर्णय स्पष्ट थियो। यो गठबन्धनलाई सुदृढताका साथ अगाडि बढाउने विज्ञप्तिमै भनेका थियौं। महासमिति बैठकमा कसले के बोल्यो भन्ने कुरा केही थिएन,’ उनले भने, ‘त्यसैले गठबन्धन लत्याउने प्रचण्डको चाल हो।’

उनले प्रधानमन्त्री प्रचण्डको निर्णय बेइमानीपूर्ण र विश्वासघात रहेको दोहोर्‍याएका थिए। ‘उहाँले संसदमा आएर गठबन्धनको विषयमा बोल्दा जे विषयवस्तु उठाउनुभयो। त्यसलाई हामीले कपोल्कल्पित र बहानाबाजी भनेका छौं,’ उनले भने। उनले नेपालको अर्थतन्त्र पनि प्रधानमन्त्रीले भनेजस्तो औसत उपलब्धिमात्र नभएको बताए। उनले आफू अर्थमन्त्री भएपछि अर्थतन्त्र लयमा फर्किएको बताए। ‘मैले जिम्मेवारी लिँदा अर्थतन्त्रको अवस्था के थियो। त्यो अर्थतन्त्रलाई हामीले लयमा फर्कायौं। राष्ट्र बैंकको समीक्षा हेर्दा पनि स्पष्ट हुन्छ,’ उनले भने।

उनले आफ्नो कार्यकालमा मूल्यवृद्धि, बैंकको व्याजदर घट्नुका साथै राजस्व संकलनमा पनि वृद्धि भएको बताए। ‘त्यसबेला आम जनतालाई मूल्यवृद्धि बढ्ला भन्ने डर थियो। त्यतिबेला ८ प्रतिशन मूल्यवृद्धि थियो, अहिले ५.२ प्रतिशत छ। बैंकको ब्याजदर पनि अत्यधिक थियो। किन धेरै ज्याजदर थियो, त्यतातिर म जान चाहन्न। मौद्रिक नीति लचिलो बनाएपछि बैंकको ब्याजदर पनि घटिरहेको छ। अझै घट्छ पनि। यसले लगानीको वातावरण बनाउँदै थियो,’ महतले भने।

उनले आफू आएपछि सेयर बजार, पर्यटन र अर्थतन्त्रका अन्य सूचकहरू पनि राम्रो बन्दै गएको बताए। ‘त्यतिबेला सेयर मार्केट पनि समस्यामा थियो। १८०० मुनि रहेको सेयर २१ सम्म पुगेको थियो। अन्य इन्डिकेटरहरू पनि राम्रो थियो। पर्यटन क्षेत्र पनि राम्रो बन्दै गएको थियो। यस्तो प्रतिकूल अवस्थाबाट सुरु गर्दा पनि राजस्व वृद्धि १० प्रतिशत बढेको छ। अहिलेको अवस्थामा यो चानचुन होइन,’ उनले भने। पूर्व अर्थमन्त्री महतले आफूले जथाभाबी खर्च रोक्दा प्रधानमन्त्री दाहालले खनिएको आश्यसमेत व्यक्त गरे। उनले नियम, कानुन र विधिसम्म नभएका निकासाहरू आफूले रोकेको बताए।

‘प्रधानमन्त्रीजीले हाम्रो कारणले अर्थतन्त्रमा सुधार भएन भन्नुभयो। समस्याको चाङलाई छिचोल्न समय लाग्छ नि। अनि यसमा प्रधानमन्त्रीको भूमिका हुँदैन? हुन्छ नि। अनि कांग्रेसका मन्त्रीलाई ताकेर दोष दिन मिल्छ?,’ उनले प्रश्न गरे, ‘मैले जथाभाबी खर्च रोके। यहाँ दिउँ भन्नेलाई रोके। नियम र कानुनले मिल्ने, आवश्यक खर्चमात्र गरेका छौं। ११ महिना कार्यकालमा धेरै विषयवस्तु आउँथे, त्यसलाई मैले यसकारण मिल्दैन भन्थे। त्यो मेरो कर्तव्य पनि हो। मेरो जनता र पार्टीप्रतिको जिम्मेवारी पूरा गरेको हुँ।’ उनले प्रधानमन्त्रीले लगाए आरोपलाई कांग्रेसले ठाडै अस्विकार गर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार