जति गठबन्धन फेर्यो उति विश्वासको मत पनि घट्दै

२०८० चैत्र १, बिहीबार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले १४ महिनाभित्र तेस्रोपटक विश्वासको मत पाएका छन्। पहिलोपटक झन्डै सतप्रतिशत र दोस्रोपटक दुईतिहाइ समर्थन हासिल गरेका दाहालले यसपटक सामान्य बहुमत पाएका छन्। तेस्रोपटकको  विश्वासको मत लिँदा झन्डै ५८ प्रतिशतमा खुम्चिए।

प्रधानमन्त्री दाहाल तेस्रोपटक विश्वासको मत पाउँदा पनि प्रधानमन्त्री दाहालको गम्भीर देखिन्थे।  ‘मप्रति भरोसा गरेर मलाई समर्थन गर्ने र विपक्षमा मतदान गर्ने सबै माननीय सदस्यहरू धन्यवाद भन्न चाहन्छु,’ संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘तेस्रोपटक विश्वासको मत पाएर काँधमा जिम्मेवारी थपिएको छ। फेरि पनि भन्न चाहन्छु, मेरो जिम्मेवारी अझ बढेको छ। तीनपटक विश्वासको मत लिँदै गर्दा अलग–अलग अनुभूति भएको छ।’

प्रधानमन्त्री दाहाललाई पहिलोपटक प्रतिनिधिसभाका ९९ दशमलव २५ प्रतिशत सांसदबाट विश्वासको मत प्राप्त भएको हो। नेकपा एमालेको सहयोगमा उनले २०७९ पुस २६ मा असाधारण बहुमत पाएका थिए। कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएपछि संसद् प्रमुख प्रतिपक्षविहीन झैं भएको थियो।

दुई महिनापछि नै सत्ता गठबन्धन फेरेका प्रधानमन्त्री दाहालले दोस्रोपटक अर्थात् २०७९ चैत ६ गते प्रतिनिधिसभामा विश्वासको मत लिए। त्यो बेला उनलाई झन्डै दुईतिहाइ सांसदले विश्वासको मत दिए। दाहाललाई कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी एकीकृत समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले विश्वासको मत दिए। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  विपक्षमा रहे। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) तटस्थ बस्यो।
 
तर, तेस्रोपटक विश्वासको मतका लागि प्रस्ताव पेस गर्दा प्रधानमन्त्री दाहालमा विगतको झैं ओज थिएन। सत्ता साझेदार दलका नेताहरूले नै आलोचनात्मक समर्थन गरे। संसद्बाट पटक–पटक विश्वासको मत पाएका दाहाललाई जनताको विश्वास जित्नुपर्ने चुनौती छ। बुधबारको प्रतिनिधिसभा बैठकमा उनको पक्षमा १ सय ५७ मत प¥यो। प्रस्तावको विपक्षमा १ सय १० मत परेको छ। मत दिन्न भन्ने पक्षमा १ मत परेको छ। मतदानमा उपस्थित २ सय ६८ सांसद उपस्थित थिए।

विश्वासको प्रस्तावको पक्षमा रहेको संख्या प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको सामान्य बहुमत हो। सभामुख देवराज घिमिरेले  विश्वासको प्रस्ताव बहुमतले पारित गरेको घोषणा गरे। सत्ता गठबन्धन दलहरू नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पक्षमा मतदान गरे। त्यस्तै, स्वतन्त्र सांसदहरू प्रभु साह, अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले समेत विश्वासको मत दिए।

विश्वासको मतको विपक्षमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), जनमत पार्टी र राष्ट्रिय जनमोर्चा (राजमो) ले मतदान गरे। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवाल भने तटस्थ रहे।

प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० (२) अनुसार, विश्वासको मत लिएका हुन्। नेपाली कांग्रेससँगको गठबन्धन तोड्दै सत्ता समीकरण फेरिएपछि सरकारमा सहभागी नेपाली कांग्रेसले आफ्नो समर्थन फिर्ता लिएको थियो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ।

गत फागुन २१ गते प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससँगको गठबन्धन तोडेका थिए। नेपाली कांग्रेस सरकाबाट बाहिरिएपछि समर्थन पनि फिर्ता लिएको थियो। त्यसलगत्तै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी र एकीकृत समाजवादीसहितका दलको नयाँ गठबन्धन बनेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1

ताजा समाचार