काठमाडौँ : गैरकानुनी रूपमा रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्धमा सहभागी भई परिवारसँग सम्पर्कविहीन रहेकामध्ये थप ७ नेपालीको मृत्यु भएको छ । हालसम्म रुस–युक्रेन युद्धमा मृत्यु हुने नेपालीको संख्या थप ७ सहित १७ पुगेको परराष्ट्र मन्त्रालयले बिहीबार पुष्टि गरेको हो । मन्त्रालयका अनुसार परिवारसँग सम्पर्कविहीनको संख्या कम्तीमा ९६ रहेको छ ।
रुस सरकारले मृत्यु प्रमाणपत्र उपलब्ध गराएका आधारमा परराष्ट्रले मृत्यु भएका नेपालीको पहिचान सार्वजनिक गरेको हो । बिहीबार मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार थप मृत्यु भएकामा धादिङ गंगाजमुना–३ का पूर्णबहादुर गुरुङ, जाजरकोट शिवालय–५ का नवीन शाही, उदयपुर चौदण्डीगढी–३ का पदमबहादुर घिमिरे, झापाको बिर्तामोड–५, गोलधापका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँके बैजनाथ–७ का सञ्जय केसी र रसुवा गोसाइँकुण्ड–५ का सुन्दर मोक्तान रहेका छन् ।
परराष्ट्रले बिहीबार पुष्टि गरे पनि धेरैजसोको परिवारले प्राप्त सूचनाका आधारमा पहिले नै काजकिरिया गरिसकेका छन् । धादिङका पूर्णबहादुरका परिवारले पुस पहिलो साता काजकिरिया गरेका थिए । युक्रेनको जापरियामा खटिइएका पूर्णबहादुरको मंसिर १८ मा भएको मृत्युको खबर तीन दिनपछि नै पाएको सहोदर दाइ श्यामबहादुरले कान्तिपुरलाई बताए । एकमहिने आधारभूत तालिम लिएर रुस–युक्रेन युद्धमैदानमा प्रवेश गरेको पहिलो दिनमै पूर्णबहादुर माइन विस्फोटमा परेका थिए ।





