काठमाडौं : बैंक तथा वित्तीय क्षेत्रलाई जोगाउन केन्द्रीय बैंकले हरसम्भव प्रयास गर्दै आए पनि केही बैंकको ‘बिकार’ भने लुक्न सकेको छैन। पछिल्लोपटक कुमारी बैंकको बिकार सुषुप्त तरिकाले बाहिरिँदै गएको छ।
सिंगो बैंकिङ प्रणालीमा नै असर पर्न सक्ने विश्लेषण गर्दै नेपाल राष्ट्र बैंकले खराबै भए पनि तत्काल कारबाहीको डन्डा चलाउन हच्किँदा बैंक तथा वित्तीय संस्थाभित्र मनपरी मौलाउँदै गएको छ । जसको पछिल्लो उदाहरण कुमारी बैंक लिमिटेड हो। धितोको क्षमताभन्दा अधिक कर्जा प्रवाह, कर्जा असुलीमा लापरबाही तथा धितो लिलामी नहुनेजस्ता कारणले कुमारी बैंकमाथि संकटको बादल मडारिन थालेको छ । मर्जर र एक्विजिसनपछि चुक्ता पुँजीका आधारमा ठूला बैंकको सूचीमा रहेसँगै वित्तीय अनुशासनका आधारमा बैंक पछाडि परेको छ। साथै लगानीकर्तालाई प्रतिफल दिने हिसाबले पनि कुमारी बैंक यतिबेला पुछारमै पुगेको छ ।
प्रतिफल शून्य हुने भएपछि साधारण लगानीकर्ता मात्रै होइन संस्थापक लगानीकर्ताहरू पनि बंैकको सेयर बिक्री गरेर बाहिरिने अवस्थामा पुगेका छन् । बैंक व्यवस्थापनको अक्षमताका कारण अर्बौँ रुपियाँ ऋण असुली नहुने र बैंकले प्रतिफल नदिने भएपछि ठूलो संख्यामा संस्थापक सेयर सदस्यहरू बैंकबाट बाहिरन थालेका हुन् ।
बैंक स्रोतका अनुसार रत्न लुइँटेल, मुकुन्दप्रसाद दाहाल, रेवन्तकुमार दाहाल, सूर्य मानन्धर, रमेश लामिछाने, देवकुमारी हुमागाईं, हरिकृष्ण दाहाल, मोहनप्रसाद पाण्डेलगायतका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको लाखौं कित्ता सेयर बिक्रीमा राखेका छन् । उनीहरूबाहेक अन्य कयौं सेयरधनीले पनि आफ्नो स्वामित्वको सेयर बिक्री गर्ने प्रक्रिया थालनी गरेको स्रोतले जानकारी दियो ।
आफूलाई रकम आवश्यक परेकाले सेयर बिक्री गर्ने बताए पनि वास्तवमा लामो समयदेखि बैंक सञ्चालक र व्यवस्थापनको मनोमानीका कारण बैंकको वित्तीय अवस्था खराब भएपछि बाहिरिने निर्णयमा पुगेको स्रोतको भनाइ छ। यसै पनि केही वर्ष बैंकले प्रतिफल दिन सक्ने अवस्था छैन । त्यसका कारण लगानी ‘सिफ्ट’को रणनीतिमा रहेको एकजना सेयर सदस्यले बताए ।
बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार बैंकको खराब कर्जा ३ दशमलव १५ प्रतिशतबाट बढेर ४ दशमलव ९७ प्रतिशत पुगेको छ । जसका कारण इम्पेरमेन्ट चार्ज १ अर्ब ४३ करोडबाट बढेर २ अर्ब ७६ करोड पुगेको छ। खराब कर्जा ५ प्रतिशत भयो भने बैंकले सेयरधनीलाई नाफा बाँढ्न पाउदैनन् । कुनै पनि बैंकमा ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ ।
ऋणीले तोकिएको समयमा साँवा ब्याज नतिरेपछि त्यो खराब वा निष्क्रिय कर्जाका रूपमा गणना हुन्छ । हाल कुमारी बैंकको वितरणयोग्य नाफा नै ३ अर्ब ७७ करोड रुपियाँ ऋणात्मक रहेको छ । बैंकको गत माघमा सम्पन्न साधारण सभामा यस वर्ष नाफा वितरण गर्न नसक्ने बताइसकेको छ। बैंकहरूको प्राथमिक पुँजीकोष ८ दशमलव ५ प्रतिशत कायम गर्नुपर्नेमा सोभन्दा न्यून भएपछि सेयरधनीलाई लाभांश वितरण गर्न नपाउने भएका हुन्।
कुमारी बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म क्यापिटल एडिक्वसी फ्रेमवर्क २०१५ अनुसार ८ दशमलव ५ प्रतिशत कायम गर्नुपर्ने प्राथमिक पुँजी पु¥याउन सकेन । कुमारी बैंकको पुँजी कोष ८ दशमलव शून्य ३ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकले पुँजीकोषसम्बन्धी निर्देशन पालना नगरेमा बैंक तथा वित्तीय संस्थालाई शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ अनुसार कारबाही गर्न सक्छ । उक्त विनियमावलीअनुसार लाभांश वितरणमा रोक्नेदेखि व्यवस्थापन लिनेसम्मको कारबाही रहेको छ।
क्यापिटल एडिक्वसी फ्रेमवर्कअनुसार बैंकहरूको प्राथमिक पुँजीकोष अर्थात् टियर वान क्यापिटल र जोखिम भारित सम्पत्तिको अनुपात ८ दशमलव ५० प्रतिशत हुनुपर्छ । त्यसै गरी कुल पुँजीको अनुपात (कोर क्यापिटल र सप्लीमेन्ट्री क्यापिटल गरेर) ११ प्रतिशत हुनुपर्छ। दुवैमा कुमारी बैंक दबाबमा छ। बैंकलाई हरिबिजोगको अवस्थामा पुर्याउने विभिन्न घटनामध्ये महोत्तरी भंगाहाका दिनेशकुमार महतोलाई प्रवाह भएको ऋण पनि एक हो।
कुमारी बैंकले महतो सञ्चालक रहेको नाममात्रको कम्पनी अप्फा वायर, करिस्मा इलेक्ट्रोनिक्स, तीनकुने हार्डवेयर र एभरेस्ट वायर इन्डस्ट्रिजका नाममा प्रवाह भएको १ अर्ब ८० करोड रुपियाँ कर्जा जोखिममा परेको छ । बैंकका उच्च अधिकारीहरूसँगको मिलेमतोमा दिइएको कर्जा असुली हुन नसक्ने अवस्थामा छ । बैंकसँग कर्जा लिनको लागि मात्र ती फर्म स्थापना गरी कारोबार अस्वाभाविक देखाइएको थियो । बैंक स्रोतका अनुसार महतोलाई दिएको उक्त कर्जाबाट बैंकले पछिल्लो डेढ वर्षदेखि साँवा ब्याजको किस्ता उठाउन सकेको छैन ।
कर्जा प्रवाहमा देखिएको बद्मासीको रहस्य खुल्ने भएपछि बैंकले गत फागुन २१ गते ऋणी दिनेशकुमार महतो र उनीसँग सम्बन्धित कम्पनीहरूको नाममा बैंकमा धितो कायम रहेको सम्पत्ति लिलाम गर्न सूचना जारी गरेको छ। तर, महतोको नाममा धितो रहेको सम्पत्ति लिलाम गरेपछि पनि बैंकको पूरै कर्जा भने उठ्न नसक्ने स्रोतको दाबी छ।
दुर्गा प्रसाईंको एक अर्ब ‘गलपासो’
व्यवसायी दुर्गा प्रसाईंको कम्पनीलाई प्रवाह गरेको एक अर्ब रुपियाँ ऋण कुमारी बैंकलाई ‘गलपासो’ भएको छ । तत्कालीन एनसीसी बैंकले (हाल कुमारी बैंकमा मर्ज भइसके) प्रसार्इंलाई मेडिकल कलेज सञ्चालन र क्यान्सर अस्पताल सञ्चालनका निम्ति १ अर्ब रुपियाँ ऋण प्रवाह गरेको थियो । तर, सो ऋणको साँवा ब्याज लामो समयदेखि उठ्न सकेको छैन ।
अदालतको आदेशपछि प्रसाईंले कुमारी बैंकको ऋणको साँवा रोक्दा अहिले बैंकलाई उक्त ऋण गलपासो भएको हो । सम्झौताअनुसार स्वीकृति ऋणको सबै रकम नदिएर परियोजना बीचमा अड्काएको तथा धितो लिलाम गरेर ऋण असुली गर्न खोजेको भन्दै प्रसाईं अदालत गएका थिए।
अदालतबाट प्रसार्इंको पक्षमा आदेश आएपछि केही वर्षदेखि कुमारी बैंकको एक अर्ब रुपियाँको साँवा ब्याज ठप्प छ । जसले गर्दा बैंकको समग्र वित्तीय स्वास्थ्यमा नै असर गरेको छ। कुमारी बैंकको लापरबाही र प्रसाईंको बल मिच्याइँका कारण सहवित्तीयकरणमा लगानी गरेका अन्य बैंक तथा वित्तीय संस्थाहरू पनि मर्कामा परेका छन् ।समाचारपत्र