काठमाडौँ : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको स्पष्ट पारेका छन् ।
आज बिहान पोखरामा पार्टीका अगुवा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री दाहालले भने, “कांग्रेसबाट पटकपटक धोका भयो । कांग्रेसबाट हामीलाई भोट ‘ट्रान्सफर’ हुने पनि देखिएन । सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौँ ।”
प्रधानमन्त्री दाहालले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने बताए । उनले भने, “राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछौँ। पूर्वदेखि पश्चिमसम्मको तराई–मधेशलाई समेटेर एउटा अभियान चल्नेछ। हिमाल, पहाड र तराई–मधेशलाई जोडेर उत्तर–दक्षिणका भूगोल जोडेर अभियान चलाइन्छ ।”