चित्र कोरेर गुजारा

२०८० चैत्र ४, आईतवार

बेदकोट : कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडाका ५५ वर्षीय तुलसीराम चौधरीले चित्र कोर्न थालेको दशकौँ भइसक्यो । कक्षा २ मा अध्ययन गर्ने बेलादेखि चित्रकलाका सौखिन उनिले यही सीपलाई जीविकोपार्जनको आधार बनाएका छन् ।

आफूले व्यावसायिक रुपमा चित्र कोर्न तथा भित्तेलेखन सुरु गरेको दुई दशकबढी समय भएको उनिले सुनाए । “विद्यालयमा छँदा गृहकार्य गर्न छोडेर चित्र बनाउथे । रातमा टुकी बालेर भारतीय अभिनेता गोविन्दा, सञ्जयदत्तको चित्र बनाएर दाईलाई देखाउथे”, उनिले भने , “चित्रकलाप्रति सानैदेखि इच्छा भएकाले यसतर्फ आकर्षित भएँ ।”

तुलसीरामले चित्र बनाउनका लागि कुनै तालिम भने लिनुभएको छैन । विद्यालयमा चित्रकला प्रतियोगितामा प्रथम भएपछि यसप्रति झनै लगाव बढेको तुलसीराम चौधरीले बताए ।

“सगरमाथामा नेपालको झण्डा फहराएको चित्र बनाएको थिएँ । देशको पहिचान झल्काएको भन्दै शिक्षक धेरै प्रशंसा गर्नुभयो”, विद्यालयमा छँदाको अनुभव सम्झँदै उनिले भने, “त्यसबेला मलाई सगरमाथा विश्वकै अग्लो शिखरको भन्ने थाहैँ थिएन । दिमागमा त्यस्तै फु¥यो, बनाएँ ।”

उनि चित्र कोर्ने कामका साथै खेती किसानीमा पनि संलग्न हुनुहुन्छ । बेलौरी नगरपालिका–२ बैजुडाँडामा डेढ बिघा जमिनमा खेती गरिरहेको तुलसीरामले बताए । “फुर्सदको समयमा खेतीपाती गरिन्छ । चित्र तथा लेखनको काम आएपछि त्यो पनि छोडिदैन ।”, उनिले भने , “विगतभन्दा अहिले नयाँ प्रविधि आउनाले हस्तकलाको काम कम पाइन्छ ।”

उनिका अनुसार विगतमा मासिक रु ५० हजारभन्दाबढी कमाउन सकिन्थ्यो । प्रविधिको बढ्दो प्रयोगले हस्तकला हराउँदै गएको उनिले बताए । विगतको तुलना काम कम पाइने भए पनि हाल दैनिक रु एक हजारसम्म आम्दानी भइरहेको उनिको भनाइ छ ।

“विगतमा सरकारी कार्यालय, पसल सबैतिर हातैले लेख्थे । अहिले डिजिटल मेसिन आइसके । विगतको भन्दा काम कम पाइन्छ”, उनिले भने , “त्यहीँ पनि दिनहुँ रु एक हजार भन्दा बढी आम्दानी हुने गर्छ ।”

भित्तेलेखन तथा चित्र कोरेबापत प्रतिवर्ग फिट रु तीन सयदेखि पाँच सयसम्म शुल्क लिने गरिएको छ । तुलसीराम भारत्तोलनको खेलाडी पनि हुनुहन्छ । विसं २०४६ मा क्षेत्रीय प्रतियोगितामा भारत्तोलनमा प्रथम र राष्ट्रिय प्रतियोगितामा द्वितीय स्थान हासिल गरेको उनिले बताए ।

तुलसीरामको बेलौरी नगरपालिका–२ बैजुडाँडामा श्रीमती र छोरा बस्छन् । “दाइछोरीहरु पनि राम्रो चित्र बनाउँछन् । अन्य पेसामा हुँदा उहाँहरुले व्यवसायिकता दिन पाउनुभएको छैन”, उनिले भने , “चित्र कोरेर र भित्तेलेखन गरेर गुजारा चलेको छ । कामको खोजीमा विदेशिनु परेको छैन । यसमै खुसी छुँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार