काठमाडौँ : राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण गर्ने तीन नेता पार्टीबाट निलम्बनमा परेका छन् ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरुलाई ४ वर्षका लागि पार्टीबाट निलम्बन गरेका हुन् । निलम्बनमा पर्नेहरुमा पार्टीका सहमहामन्त्री प्रेम बलायर, राप्रपा काठमाडौँ क्षेत्र नम्बर ४ का अध्यक्ष ऋद्धिप्रताप राणा र युवा संगठनका सदस्यसचिव निराजन बम रहेका छन् । पार्टीको अनुशासन समितिले बुझाएको प्रतिवेदनका आधारमा उनीहरुलाई कारबाही गरिएको हो ।
गत फागुन २७ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको बेला श्रेष्ठमाथि आक्रमण भएको थियो । आक्रमणमा उत्रिनेहरुमाथि छानबिन गरि प्रतिवेदन दिन कार्यसम्पादन समितिले पार्टीको अनुशासन समितिलाई ४८ घण्टा अल्टिमेटम दिएको थियो । सोहीअनुरुप अनुशासन समितिले बुझाएको प्रतिवेदन अनुसार राप्रपाले उनीहरुलाई कारबाही गरेको हो ।