काठमाडौ : भागवत कथा बाचक आचार्य श्री शीतलकृष्णजी महाराजले आफूमाथि अन्याय गरेको भन्दै श्रीमती सुकृति पौडेल भुसालले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेकी छिन् ।
सातजुनीसम्म सँगै बिताउने कसम खाएर बिहे गरेकी श्रीमतीलाई मन लागुञ्जेल भोग गरेपछि बीचैमा छाडेर भाग्नु हिन्दु परम्पराविपरीत भएको पत्नी सुकृतिको गुनासो छ । कथित धर्मगुरु भनेर चिनिने प्रसिद्ध कथावाचक शीतलकृष्ण महाराज भुसालले आफ्नो जीवनमाथि खेलबाड गरेको र जबरजस्ती डिभोर्सका लागि दबाब दिएको उनले बताइन् ।
आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई पतिले पटक–पटक हिंसा गरेको आरोप लगाइन् । उनले भनिन्, ‘हाम्रो विवाह भएको तीन वर्ष भयो । विवाहपश्चात् केही महिना राम्रोसँग बित्यो तर पछि उहाँको दुर्व्यवहार र दुश्चरित्रहरु मैले अनुभव गर्न थालें । मैले सो व्यवहारका विषयमा उहाँलाई बारम्बार भन्दा पनि उहाँले मलाई रगताम्य हुने गरी कुटपिट गर्ने आदि घट्ना हुन थाले ।’ सुकृतिले भनिन्, ‘यतिमात्र नभई मलाई भ्रुणहत्या गर्न विवश बनाइयो । म सहँदै गएँ । मैले मेरो पीडा माईती पक्षलाई पनि केही भनिनँ ।’
सुकृतिले पत्रकार सम्मेलनमा भनिन्, ‘अकस्मात मलाई छोडपत्र दिने विचारले जिल्ला अदालत नवलपुरमा डिभोर्स फाइल पेश गरेको जानकारी आयो । म यो अप्रत्यासित र अकल्पनीय खबर सुनेर एक्कासी बेहोस भएँ । मन लागुञ्जेलसम्म सँगै बस्ने अनि मन भरिएपछि विभिन्न बाहाना गरेर यसै गरेर छोडपत्र गर्दै जाने प्रवृत्ति के उचित हो र ?’