सहकारी ठगी छानबिन संसदीय समिति बन्न सम्भव छैनः ओली

२०८० चैत्र ६, मंगलवार

काठमाडौं : सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहकारीको निक्षेप अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको प्रसंगमा संसदीय छानबिन समिति बन्न नसक्ने बताएका छन्।

संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार दिउँसो पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले सहकारीको रकम अपचलनबारे संसदीय समिति बन्न सम्भव नभएको बताएका हुन्।

‘संसदीय समिति केका लागि बन्ने? त्यो सम्भवै छैन,’ अध्यक्ष ओलीले भने। सरकारबाट बाहिरिनेबित्तिकै नेपाली कांग्रेसले आवेश उत्तेजना देखाउन नहुने उनले बताए।

‘अहिले उहाँहरू सरकारबाट बाहिर हुनुहुन्छ। सरकारभन्दा बाहिर हुनेबित्तिकै कांग्रेस जस्तो पार्टीले कुनै आवेश, उत्तेजना देखाउने, आवेग देखाउने, प्रतिशोधी खालका क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्नेजस्तो क्रियाकलाप गर्नु हुँदैन। हामी कांग्रेसबाट जिम्मेवार प्रतिपक्षीको भूमिको अपेक्षा गर्छौं।आग्रह पनि गर्छौं,’ उनले भने।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफ चित्त नबुझेको भन्दै कांग्रेसले पोखराको सूर्योदय वचत तथा ऋण लगायत सहकारीको निक्षेप अपचलनबारे संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको थियो।

प्रधानमन्त्री प्रचण्डले सूर्योदय वचत तथा ऋण सहकारीको निक्षेप अपचलनमा गृहमन्त्री लामिछानेमाथि अनुुसन्धान नै गर्नु नपर्ने प्रहरीको ब्रिफिङ रहेको जबाफ दिएका थिए। तर कांग्रेस प्रमुख सचेतक रमेश लेखकले लामिछानेमाथि अनुसन्धान गर्न पर्याप्त प्रमाण रहेको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार