काठमाडौँ : सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिने काम आज सकिएको छ।
बुधबारदेखि सुरु भएको बयान लिने कार्य आज सम्पन्न भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिए। बयान सकिएसँगै उनलाई पुनः नर्भिक अस्पतालमै भर्ना गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले जानकारी दिएको छ। कमजोर स्वास्थ्य अवस्थाका कारण उनलाई अदालतले नै अस्पतालमा राख्न भनेको थियो।
यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ परेका उनीमाथि चार दिनको म्याद लिएर सिआइबीले अनुसन्धान गरिरहेको छ। आज थपिएको म्याद सकिने अन्तिम दिन हो। उनीमाथि भोलि थप आवश्यक प्रक्रिया अघि बढाइने सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए। गत साउन २ गते ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको नौ किलो सुन तस्करीमा सङ्लग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएकाले अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।
अघिल्लो पटक सिआइबीले उनीमाथि बयान कागज गराएर छाडेको थियो। सोही प्रकरणमा महराका छोरा राहुल हाल पुर्पक्षका लागि थुनामा छन्। यसैबीच बाँसबारीको जग्गा हिनामिना प्रकरणमा आजै सिआइबीले सांसद विनोद चौधरीसँग जिल्ला सरकारी वकिलको रोहबरमा बयान लिइएको छ। बयान दिएपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै यो प्रक्रिया स्टन्टमात्रै भएको जिकिर गरेका थिए।
पिपिपिको उत्कृष्ट मोडललाई राजनीतिकरण गरिएको भन्दै उनले १० रोपनी जग्गामा कुदृष्टि राख्छ भन्ने विचार नै विकृत मानसिकताको सोच भएको बताए। उनीमाथि अनुसन्धान भइरहेको विषयमा सिआइबीले हिजोमात्रै सभामुख देवराज घिमिरेलाई संसद् सचिवालयमार्फत जानकारी गराएको थियो।










