बझाङमा उम्मेदवारी दिन हामीलाई कसैले रोक्न सक्दैन : माधब नेपाल

२०८० चैत्र १२, सोमबार

काठमाडौं : बैशाख १५ गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनभित्र नेकपा एकीकृत समाजवादीले हिस्सा खोजेको छ । इलाम- २ मा प्रतिनिधिसभा र बझाङमा प्रदेशसभाका लागि निर्वाचन हुँदैछ ।

गठबन्धनमा नेकपा एकीकृत समाजवादीले प्रदेशसभाअन्तर्गत बझाङमा दाबी गरेको छ । सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले उपनिर्वाचनबारे चासो राखेको छैन । प्रधानमन्त्री प्रचण्डलाई सत्ता टिकाउन गठबन्धनका सबै दल मिलाएर जानुपर्ने भएकाले उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले हतारो नदेखाएको बताइन्छ । बालुवाटारमा आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा पनि अध्यक्ष नेपालले आफ्नो अडान सुनाए ।

तीन पार्टीको सम्बन्धका बारेमा छलफल भएको जानकारी गराउँदै काभ्रे पुगेर उनले भने, ‘तीन वटा अलग अलग पार्टी हुन्, अलग अलग ढंगले अगाडि बढ्छन् भन्ने कुरा आयो । त्यसै सिलसिलामा इलाम र बझाङको कुरा आयो । हामी छुट्टै पार्टी हुनाले हामीले उम्मेदवार खडा गर्‍यौं भनेर एमालेको तर्फबाट भनियो । स्वाभाविक रूपमा हामी पनि छुट्टै पार्टी हुनाले कहाँ कहाँ उम्मेदवार खडा गर्ने हो, कसकसले हामीलाई साथ दिने हो, त्यसको आधारमा हामी अगाडि बढ्नेछौं ।’
ओलीले एमालेको तर्फबाट उम्मेदवार घोषणा भइसकेकाले ब्याक हुन नसक्ने जवाफ दिएका थिए । ओलीको जवाफपछि अध्यक्ष नेपालले एमाले आफ्नै ढंगले अघि बढिसकेकाले माओवादीसँग समझदारी हुनसक्ने संकेत गरेका छन् । अध्यक्ष नेपालले थपे, ‘सोचिरहेका छौं दुवै ठाउँमा उम्मेदवारी दिने कि अरुले पनि हामीलाई समर्थन गर्छन् भने त्यही समर्थनको आधारमा अघि बढ्ने हो कि ? तर, हामी दुवै ठाउँमा एक्लै उम्मेदवारी दिनुपर्ने हुनसक्छ भन्ने मानसिकताको साथ अघि बढिरहेका छौं । एमालेको धारणा प्रस्ट आयो । माओवादी केन्द्रसँग समझदारी हुने सम्भावना देखिँदैछ । हामीले समाजवादी मोर्चामा पनि छलफल गरिरहेका छौं । यो कुरा छिट्टै टुंगो लाग्नेछ ।’

प्रचण्ड र ओलीसँग संवादमा रहेका नेपालले चेतावनीको शैलीमा भने, ‘हामी मानसिक रुपमा दुवै ठाउँमा उम्मेदवारी दिनुपर्छ भन्नेमा छौं । बझाङमा त दिन्छौं नै । त्यहाँ कसैले हामीलाई रोक्न सक्दैन ।’ एमालेले आइतबार इलाम- २ मा सुवास नेम्बाङका कान्छा छोरा सुहाङ र बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । गठबन्धनमा आवद्ध रवि लामिछाने नेतृत्वको रास्वपाले एक्लै लड्ने निर्णयसहित तयारी थालिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार