गठबन्धनमा एमालेलाई माधव नेपाल भारी

२०८० चैत्र १३, मंगलवार

काठमाडौं : वर्तमान पाँच दलीय सत्ता गठबन्धनको मुख्य साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई सोही पार्टीबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी भारी बनेको छ।

आगामी वैशाख १५ मा इलाम–२ र बझाङ १ (क) मा हुने प्रदेशसभा उपनिर्वाचनमा एकीकृत समाजवादीले दुईमध्ये एक ठाउँ आफ्नो दलले पाउनुपर्ने अडान राखेपछि एमालेलाई समस्या परेको हो। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन शीर्ष नेताहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधव नेपालबीच चुनावी तालमेल, गठबन्धन र प्रदेश सरकारका विषयमा छलफल भएको थियो।

छलफलमा नेपालले दुईमध्ये एक ठाउँमा आफूले सहयोग पाउनुपर्ने नत्र दुवै ठाउँमा आफ्नो पार्टीले उम्मेदवार उठाउने बताएपछि ओलीलाई असहज महसुस भएजस्तो देखिएको माओवादी केन्द्रका महासचिव देव गुरुङको भनाइ छ । तर, माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले भने गठबन्धन जोगाउने सर्तमा एमालेलाई नै सहयोग गर्नसक्ने छनक देखाएको बताइएको छ । ‘वर्तमान सत्ता गठबनधनलाई बलियो बनाउने सर्तमा माओवादीले अहिलेको उपनिर्वाचनमा एमालेलाई सहयोग गर्न सक्ने अवस्था कायमै छ’, नेता गुरुङले भने– ‘तर, धेरैजसो केन्द्रीय समिति सदस्य र भूगोलका साथीहरूको मत आफ्नै उम्मेदवार बनाउनुपर्छ भन्ने छ ।’

यी दुवै विषयमा छलफल भइरहेको उहाँको भनाइ छ । उपनिर्वाचनका लागि एमालेले दुवै उम्मेदवार तय गरीसकेको छ । तर, गठबनधनका अन्य दल माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले भने उम्मेदवारबारे निर्णय गर्न सकेका छैनन् ।

छलफलमा पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाएरै छाड्ने जिकिर गर्दै त्यसका लागि पार्टीमा तयारी भइरहेको बताउनुभयो । नेपालले उपनिर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार उठाएरै छाड्ने अडान नछाडेपछि ओलीले आफ्नो पार्टीबाट उम्मेदवार छनोट गरेर निर्वाचन क्षेत्रमा पठाई सकिएकाले एमालेलाई सहयोग गर्न आग्रह गर्नुभएको एमालेका नेताहरूले बताएका छन् । ओलीको सचिवालयले बालुवाटार बैठकमा ओलीको भनाई उद्धृत गर्दै बतायो– ‘एमालेले इलाम र बझाङ दुवै ठाउँमा उम्मेदवार उठाइसकेको छ । ती दुवै ठाउँमा माओवादी र समाजवादीभन्दा एमालेकै राम्रो र जित्ने अवस्था पनि छ ।’ ओलीको भनाइ सुनेपछि प्रधानमन्त्री प्रचण्डले आफू सहमतिमै अघि बढ्न तयार रहेको बताए पनि माधव नेपालले असन्तुष्टि जनाउँदै बाहिरिएको बताएका छन्।

ओली र प्रचण्डको कुरा सुनेपछि अध्यक्ष नेपालले इलाममा एमाले उम्मेदवारलाई सहयोग गर्नुपरे बझाङमा आफ्नो पार्टीले उठाउने उम्मेदवारलाई सघाउन आग्रह गर्नुभएको जिकिर गर्दै एकीकृत समाजवादीका नेता मेटमणी चौधरीले भने– ‘माधवको आग्रहपछि ओलीले उम्मेदवार घोषणा गरिसकेकाले पछि फर्कन एमाले असमर्थ रहने जनाए, त्यसपछि नेता नेपालले प्रचण्डलाई माओवादीबाट उम्मेदवार नउठाएर आफ्नो पार्टीका उम्मेदवारलाई सघाउन भन्नुभएको छ ।’

जवाफमा प्रचण्डले पार्टीमा सल्लाह गर्ने वचनसमेत दिएको उनको भनाइ छ। बालुवाटार छलफललगत्तै काभ्रेको बनेपा पुगेर अध्यक्ष नेपालले जिल्ला अधिवेशनबाट छनोट भएको नयाँ नेतृत्वलाई पदभार ग्रहण गराउँदै आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने तयारी भइरहेको बताए। उनले उपनिर्वाचनका लागि सम्भव भएसम्म अन्य दलहरूसँग सहकार्य गर्ने त्यो सम्भव नभए एक्लै चुनाव लड्ने मानसिकताका साथ पार्टीले तयारी गरिरहेको बताए । गत फागुन २१ मा प्रधानमन्त्री प्रचण्ड एमालेसँगको नयाँ समीकरणमा सामेल हुँदा आफूलाई थाहा नै नदिएकोमा समेत नेता नेपाल असन्तुष्टि जनाउँदै आउनुभएको छ।

कांग्रेससँगको समीकरण तोडेर एमालेसँगको समीकरण बनेपछि एमाले अध्यक्ष ओली र प्रचण्ड दुवैले घरमै गएर अध्यक्ष नेपाललाई सरकारी गठबन्धनमा सहभागी गराउन सहमत गराएपछि उक्त पार्टी २ मन्त्रीसहित सरकारमा सामेल भएको छ। यद्यपि, एकीकृत समाजवादीले तीन मन्त्री दाबी गर्दै आएको थियो। प्रधानमन्त्री प्रचण्ड एकीकृत समाजवादीलाई सकभर नचिढ्याउने पक्षमा छन्। एकीकृत समाजवादी चिढिएमा उसले सरकारलाई दिएको समर्थनसमेत फिर्ता गर्न सक्ने र त्यसपछि जसपा पनि सरकारबाट बाहिरिन सक्ने अवस्था आउन नदिन प्रचण्ड सचेत देखिनभएको छ। एकीकृत समाजवादी र जसपा दुवैले समर्थन फिर्ता गरे प्रचण्ड सरकार अल्पमतमा पर्ने निश्चित छ।

त्यस्तो अवस्थामा संविधानअनुसार संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने निश्चित छ। यो अवस्थालाई जोगाउन माओवादी अध्यक्ष प्रचण्डले प्रदेशमा एमालेलाई सबै पद छाड्दै गए पनि सत्ता सहयात्री दल एकीकृत समाजवादी र रास्वपाले आफ्नै उम्मेदवार उठाउने बताएका छन्। रास्वपाले आगामी चैत १७ सम्ममा आफ्ना उम्मेदवार छनोट भइसक्ने र सरकारमा गठबन्धन भए पनि चुनावमा मैत्रीपूर्ण प्रतिष्पर्धा गर्ने रास्वपाका महामन्त्री मुकुल ढकालले बताउनुभयो । तर, एमालेले भने रास्पवालाई पनि एमाले उम्मेदवारलाई समर्थन गर्न आग्रह गरेको छ ।नेपाल समाचारपत्र

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार