उपनिर्वाचनमा सत्ता गठबन्धनको साझा उम्मेदवार नहुने लगभग निश्चित

२०८० चैत्र १३, मंगलवार

काठमाडौं : आगामी वैशाख १५ गते प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र १ मा हुने उपनिर्वाचनको चहलपहल सुरु भएको छ ।

राजनीतिक दलहरू उपनिर्वाचनको तयारीमा जुटेका छन् । राजनीतिक दलहरूले उम्मेदवार चयनको आन्तरिक गृहकार्य गरिरहेका छन् । सत्तारूढ गठबन्धनको मुख्य घटक नेकपा एमालेले भने दुवै निर्वाचन क्षेत्रको लागि उम्मेदवार तय गरिसकेको छ । आइतबार बसेको एमाले सचिवालय बैठकले इलाम-२ मा सुहाङ नेम्वाङ र बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र १ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । तर, सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्र भने इलाम क्षेत्र नम्बर २ मा आफ्नै उम्मेदवार उठाउने कि नउठाउने भन्नेबारे अन्योलमा देखिएको छ । नेपाली कांग्रेस, राप्रपालगायत दलहरूले उम्मेदवारका आकांक्षीका नाम क्षेत्रबाट जिल्ला कार्यसमिति हुँदै केन्द्रमा पठाएका छन् । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार तय गर्न प्राइमरी इलेक्सन गर्ने तयारी गरेको छ ।

प्रदेशको उपचुनावमा भाग नलिने निर्णय गरेको रास्वपाले इलाम-२ का लागि आगामी शनिबार उम्मेदवार घोषणा गर्ने तयारी छ । सत्तारूढ नेकपा एकीकृत समाजवादी पनि आफ्नै उम्मेदवार उठाउने कि नउठाउनेमा अन्योलमै छ । अन्य दल तथा स्वतन्त्र रूपमा पनि इलाम-२ मा उम्मेदवारीको चर्चा भइरहेको छ ।

अधिकांश राजनीतिक दलहरू उपनिर्वाचनमा केन्द्रित हुँदा केन्द्रमा गठबन्धन सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र भने मौन छ । माओवादीका प्रवक्तासमेत रहनुभएका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले इलाम-२ को बारेमा अहिलेसम्म पार्टीभित्र कुनै छलफल नभएको जानकारी दिँदै भने, ‘हामीले पार्टीमा अहिलेसम्म यसबारे छलफल नै गरेका छैनौँ । के गर्ने भन्नेबारे छिट्टै कुराकानी हुन्छ होला ।’ गत फागुन १६ गते बसेको माओवादी स्थायी कमिटी बैठकले आगामी निर्वाचनमा माओवादी एक्लै चुनाव लड्ने निर्णय गरेको थियो ।

माओवादीको कोशी प्रदेशका सचिव गणेश उप्रेतीका अनुसार इलाम-२ को उपनिर्वाचनको विषयमा केन्द्रीय कमिटीले प्रदेश र जिल्ला कमिटीसँग कुनै प्रकारको संवाद गरेको छैन । प्रदेशसभा सदस्यका लागि बझाङ-१ मा हुन लागेको चुनावका लागि पनि माओवादीको गतिविधि अघि बढेको छैन । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका सचिव जनक बुढाले पार्टीको केन्द्रीय नीतिअनुसार अगाडि बढ्ने बताए। तल्लो कमिटीले केन्द्रको निर्देशन पर्खिरहँदा नेतृत्व तहमा भने कुनै छलफल भएको छैन । माओवादी केन्द्रका महासचिव देव गुरुङले भने, ‘राष्ट्रिय राजनीतिमा हामीले संयोजनकारी भूमिका निर्वाह गर्दै आएकाले उपनिर्वाचनको सम्बन्धमा पनि दलहरूसँग संवाद गर्नुपर्छ । कुन कुन दलको बीचमा तालमेल मिल्छ-मिल्दैन भन्ने कुरा हुन बाँकी छ । त्यसपछि मात्रै हाम्रो उम्मेदवारीको विषय टुंगो लाग्छ ।’ यसअघि माओवादीको कोशी प्रदेश कमिटीले पनि एक्लै निर्वाचन लड्नुपर्ने सिफारिस केन्द्रीय कमिटीमा पठाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार