लिखु तामाकोशीका पूर्वअध्यक्ष भ्रष्टाचारी ठहर, ६ महिना सजाय, २ करोड जरिवाना

२०८० चैत्र १३, मंगलवार

काठमाडौँ : रामेछापको लिखु तामाकोशी गाउँपालिकाका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीशद्धय टेकनारायण कुँवर र तेजनारायण सिंह राईको इजलासले सोमबार गाउँपालिका तत्कालीन अध्यक्ष खड्कालाई ६ महिना कैद सजाय सुनाएको हो।

खड्कालाई विशेष अदालतले १ करोड ९९ लाख ३२ हजार ५ सय ९ रुपैयाँ ८८ पैसा जरिवाना पनि तिराउने फैसला गरे‍को छ। अदालतले राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईंलाई ३ महिना कैद र ६३ लाख १० हजार ८ सय ३६ रुपैयाँ ६२ पैसा जरिवाना सुनाएको छ। त्यसैगरि दुर्गाबहादुर डिम्दोङ तामाङ र नोर्बु लामालाई ३ महिना कैद र ३१ लाख ५५ हजार ४ सय १८ रुपैयाँ ३१ पैसा जरिवाना भएको छ।

न्यौपाने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र डिम्दोङ लेखापाल थिए। अदालतले सामान ल्याउने ठेकेदार कम्पनी सञ्चालक अमृतबहादुर तामाङलाई पनि ३ महिन कैद र ४२ लाख ३५ हजार ६ सय ८६ रुपैयाँ ४७ पैसा जरिवाना भएको छ।

पालिकामा विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २७ जनाविरुद्ध मुद्दा चलाएको थियो। जसमध्ये पाँच जना दोषी ठहर भएका हुन्। अरु २२ जनाले सफाइ पाएका छन्। ०७४ सालको स्थानीय तहको निर्वाचनअगाडि खड्का राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गरेका थिए। एमालेमा प्रवेश गरेपछि गाउँपालिका अध्यक्षमा निर्वाचित खड्का त्यसपछि नेपाली कांग्रेसका प्रवेश गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार