अब मधेस सरकारको नेतृत्व एमालेले लिन्छ : शंकर पोखरेल

२०८० चैत्र १४, बुधबार

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रेदश सरकारको नेतृत्व अब नेकपा एमालेले गर्ने बताएका छन् । बुधबार नेकपा एमाले बाराको प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मधेसमा अन्य दलले नेतृत्व लिएर काम गरिसकेको बताउँदै अब मधेसको नेतृत्व एमालेले लिन चाहेको बताए । मधेस प्रदेश सरकारको नेतृत्व लिएर एमालले कसरी विकास गर्छ भन्ने कुरा देखाउन चाहेको पोखरेलले धारणा राखे ।

मधेसको विकास र समृद्धिका लागि योजनाबद्ध पहलकदमी अघि बढाउने पार्टी नेकपा एमाले भएको उनले बताए। तराईको मुख्य सडकको रूपमा रहेको हुलाकी सडक नेकपा एमालेकै पालामा बनेको स्पष्ट पारे । नेपाली जनता र मधेसका जनताको हितको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतका प्रधानमन्त्रीसँग आँखा जुधाएर कुरा गरेको पोखरेलले बताए ।

जिम्मा लिएर १० वर्षसम्म भारतले रोकेको हुलाकी सडक केपी ओली प्रधानमन्त्री हुँदा बनाएको उनले स्मरण गराए । ‘तराई मधेसको विकासका लागि नेतृत्व गर्ने पार्टी हो नेकपा एमाले, त्यो पार्टीलाई क्षेत्रीय पार्टीहरू मधेस विरोधी भन्ने गर्दछन्’, उनले भने ।मधेसका जनतामा देखिएको निराशा नै आफूलाई मधेसवादी भन्ने दलहरूले लिएको बाटो भएको पोखरेलले बताए । मधेसको निराशा तोड्ने र आशा जगाउने काम गर्ने पार्टी नेकपा एमाले भएको उनले दाबी गरे । मधेसमा देखिएका नयाँ नयाँ काम नेकपा एमालेले नै गरेको पोखरेलले बताए ।

विकास नगर्नेहरू मधेसका समर्थक र विकास गर्ने पार्टी मधेस विरोधी हुन नसक्ने उनले बताए । यो सच्चाइलाई बुझ्न आवश्यक रहेको उनको धारणा छ । हिमालबाट बग्ने पानीबाट मधेसमा सिँचाई गर्नुपर्दछ भनेर भेरी डाइभर्सन तथा सुनकोसी–मरिण डाइभर्सनको काम नेकपा एमालेले अघि बढाएको उनले बताए । ‘सुनकोसी–मरिण डाइभर्सनको सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको छ’, उनले भने ।

विगतमा एमालेलाई तराई मधेसमा छिर्न नदिने भनेर जनताका सपना र विकासलाई रोक्ने काम भएको उनले बताए । एमाले बेलैमा सरकारमा गएको भए मधेस अहिले निक्कै अगाडि बढिसकेको हुने उहाँले स्पष्ट पार्नुभयो । नेपालको विकास र समृद्धि देख्न चाहनेले नेकपा एमालेलाई रोक्ने र विभाजित गर्ने काम गरेका उनले बताए ।

पार्टीका नेता कार्यकर्ताको मेहनत र समर्पणका कारणले नेकपा एमाले कठिन परिस्थितिमा पनि देशको सबैभन्दा लोकप्रिय दल बनेको उनले बताए । अहिले पुरानो सत्ता गठबन्धन टुटेर नयाँ सत्ता समीकरण बनेको भन्दै पोखरेलले यसमा नेकपा एमालेले कुनै भाग नखोजेको बताए । एमालेको ध्यान भागबण्डामा होइन, देशको विकास र बढ्दै गएको निराशालाई आशामा परिणत गराउने तर्फ केन्द्रित रहेको उनले स्पष्ट पारे ।

एमालेले देशको ओरालो लागेको यात्रालाई रोक्ने सोचका साथ नयाँ समीकरण गरेको पोखरेलले बताए । अहिलेको सत्ता समीकरणलाई पूर्णसमयसम्म लैजाने कुरामा एमालेको प्रयास रहेन उनको भनाइ छ । नेकपा एमालेलाई अब निर्णायक शक्तिका रूपमा विकास गर्नुपर्ने बताउँदै पोखरेलले यसका लागि जनताको बिचमा जानु पर्ने बताए।

सामाजिक अपराधका घटनाबाट जनतालाई मुक्ति दिलाउन, सामाजिक विकास समृद्धिको अगुवाइ गर्न कार्यक्रममा देखिएर मात्र नहुने बताउँदै पोखरेलले त्यसको लागि जनताका बिचमा जानु पर्ने र जनताकै विश्वास जित्नु पर्नेमा जोड दिए । अहिले कांग्रेसमा सरकारबाट बाहिरिनु पर्ने पीडा देखिएको उनले बताए । सरकारबाट बाहिरिनुको पीडा कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेर गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार