राजनीतिक दलका लागि सत्ता मात्रै महत्त्वपूर्ण हुन थाल्यो : प्रदीप पौडेल

२०८० चैत्र १४, बुधबार

काठमाडौँ : नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राजनीतिक दलका लागि सत्ता मात्रै महत्त्वपूर्ण हुने गरेको बताएका छन्।

बुधबार विश्व परिवेशमा प्रजातन्त्र र मानव अधिकार रक्षार्थ सञ्चार वकालत कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘अहिले राजनीतिक दलहरुका लागि सत्ता नै सबै थोक हुने गरेको छ। नयाँ राजनीतिक दल वा पुराना राजनीतिक दलहरू सबैका लागि सत्ता नै सबै थोक भएको छ। यसले लोकतन्त्रको रक्षा हुन सक्दैन।’ उनले भने।

सत्ता प्राप्तिका लागि राजनीतिक दलहरू मानव अधिकार उल्लंघन गर्न पनि तयार हुने गरेको नेता पौडेलको भनाइ थियो। सत्ता केन्द्रित राजनीतिक मनोविज्ञान भएको हुनाले नागरिक आन्दोलनले मात्रै निःस्वार्थ ढंगबाट कुराहरु उठाउन सक्ने उनको तर्क थियो। उनले अहिले नागरिक आन्दोलन कमजोर बन्दै गएको पनि उल्लेख गरे।

सांसद पौडेलले संसद्को चुनाव गर्ने र बहुमत जुटाएर प्रधानमन्त्री बन्ने कुरा मात्रै लोकतन्त्र नभएको सुनाए। राज्यले आम नागरिकप्रति उत्तरदायी भएर काम गर्नु र सरकार जबाफदेही बन्नु लोकतन्त्र भएको उनको भनाइ थियो। ‘सुशासनको स्थिति अहिले विगतको भन्दा कमजोर छ। आम जनताको न्यायमा पहुँच पुग्न नसक्नु अर्को विडम्बना हो। कानुनबाट चल्नुपर्ने देश ट्रस्टीबाट चलेको छ।’ उनले भने।

उनले विधिको शासन स्थापित गर्न चाहने देशमा पहुँच पुगे मात्रै न्याय प्राप्त गर्ने स्थिति बन्नु दुःखद भएको जिकिर गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार