देशभर पाँच सय ‘घुमुवा’ प्रहरी हटाइए

२०८० चैत्र १७, शनिबार

काठमाडौँ : देशभरिका प्रहरी कार्यालयबाट करिब पाँच सय सादा पोसाकका प्रहरी (घुमुवा) हटाइएका छन् । गृह मन्त्रालयको निर्देशनअनुसार प्रहरीले घुमुवा हटाएको हो । सादा पोसाकमा कार्यरत प्रहरी बारम्बार विवादमा पर्दै आएका छन् ।

सूचना संकलन तथा अपराध अनुसन्धानका लागि भनेर सादा पोसाकमा खटिने प्रहरी गैरव्यावसायिक गतिविधिमा संलग्न रहेको भन्दै हटाउन बिहीबार प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइएको थियो । जसअनुसार प्रहरी प्रधान कार्यालयले देशभरिका प्रहरी कार्यालयलाई तत्काल घुुमुवा प्रहरी हटाएर नियमित ड्युटीमा खटाउन परिपत्र गरेको छ ।

निर्देशनअनुसार सबैजसो कार्यालयबाट सादा पोसाकका प्रहरी नियमित ड्युटीमा खटिन थालेको प्रहरी प्रवक्ता डिआइजी भीमप्रसाद ढकालले बताए । अपराध अनुसन्धान गर्ने विशिष्टीकृत निकाय र अपराध अनुसन्धान शाखामा काम गर्नेबाहेक अन्य सादा पोसाकमा खटिन रोक लगाइएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सादा पोसाकमा कार्यरत पाँच सयभन्दा धेरै प्रहरीलाई नियमित काममा खटाउन थालिएको छ ।

काठमाडौं उपत्यकामा मात्र एक सय आठजना सादा पोसाकका प्रहरीलाई नियमित ड्युटीमा खटाउन थालिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी अवदेश विष्टका अनुसार शुक्रबारदेखि नै सादा पोसाकका सबैलाई नियमित ड्युटीमा खटाउन थालिएको छ ।

विगतमा पनि वेलावेलामा गृह र प्रहरी प्रधान कार्यालयबाट यस्ता प्रहरी हटाउने निर्णय हुँदै आएको छ । गत वर्ष प्रहरी प्रधान कार्यालयले सादा पोसाकका प्रहरीलाई व्यवस्थित गर्न तत्कालीन डिआइजी (हाल एआइजी) टेकप्रसाद राईको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिले सादा पोसाकमा कसैलाई खटाउन माथिल्लो निकायको अनुमति लिनुपर्ने र असल चालचलन भएका प्रहरीलाई मात्र सूचना संकलनका लागि सादा पोसाकमा खटाउन सकिने सुझाव दिएको थियो । सोहीअनुसार नयाँ निर्देशिका बनाएर कार्यान्वयन हुँदै आएको छ । यद्यपि, कार्यालय प्रमुखहरूले आफ्नो व्यक्तिगत लाभका लागि सादा पोसाकमा प्रहरी परिचालन गर्ने प्रवृत्ति अझै रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार