राजनीतिक भर्ती केन्द्र बनेको खेलकुद मन्त्रालयलाई सुधार गर्दैछुः मन्त्री श्रेष्ठ

२०८० चैत्र १७, शनिबार

इलाम : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालय राजनीतिक भर्ती केन्द्र बनेको भन्दै अहिले सुधार गरिरहेको बताएका छन् । शनिबार इलाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले खेलको बारेमा जानकारी नभएको व्यक्तिलाई विभिन्न निकायहरूमा नियुक्ति भएको अवस्थालाई सुधार गरी कारबाही अघि बढाएको बताएका हुन् ।

उनले खेलाडीहरूलाई पछाडि पार्ने र नियुक्ति गरिएका व्यक्तिलाई बढी पारिश्रमिक दिने गरी अघि बढिरहेको अवस्थालाई रोकेर आफूले अहिले खेलाडीहरूलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको जिकिर गरे । उनले सरकारी जग्गाहरू हडपेर निजी स्वार्थका लागि आर्थिक उपार्जन गर्ने काममा लागेको पाइएको बताए ।

उनले भने, ‘इलामको समस्या के छ ? त्यो खोजेर हामी सबै एक भयौँ भने इलामको समस्या समाधान हुन्छ । समस्या के छ भनेर खोज्नका लागि पर्याप्त मानिस हामी यहीँ छौँ । सिंहदरबार घरघरमा भन्ने नारा छ, जनताको आशा त्यहीअनुसारको छ तर बजेट त्यो अनुसारको नहुँदा तपाईंहरूलाई अझ धेरै चुनौती पनि छन् । हामीले हिजोको समस्यालाई आज कुरा गरिरहेका होइनौँ, यो तिसौँ वर्षदेखिको बेथिति यहाँ आइपुगेको हो, हामीले पनि अब के प्रण गर्न सक्नुपर्छ भने अब हामीले काम गरेन भने आगामी पुस्ताले फेरि ३० वर्षपछि यस्तै दुःख पाउँछ । मन्त्रालय कस्तो रहेछ भन्दा म त्यहाँ पुग्दा, राजनीतिक भर्ती केन्द्र जस्तो, खेलको बारेमा थाहै नभएको मान्छे खेलमा जाने, अनि खेलाडीहरू जहिले पनि पछाडि पर्ने, खेलाडीहरूको पारिश्रमिक एकदम कम, तर नियुक्ति भएकाहरूको पारिश्रमिक धेरै, त्यस्ता खालका विकृतिहरू हटाउन काम गर्दैछौँ, कति कारबाही पनि अघि बढाएका छौँ । सरकारी जग्गाहरू एकदम धेरै हडपेर मान्छेहरूले व्यक्तिगत रूपमा चलाएर मोजमस्ती गरिरहेको वा आर्जन गरिरहेको चिजहरूमा कारबाही अघि बढाएका छौँ । भइरहेका कारबाहीहरू अझ सुदृढीकरण गरेर अघि बढेका छौँ । अन्तर्राष्ट्रिय जगत नेपालको खेल जगतमा काम गर्न तयार छ, तर हाम्रा यहाँका नीतिहरू र पहिलाका विकृतिहरूले उहाँहरू आउन सकिरहनुभएको छैन । त्यसको लागि पनि हामीले पहल सुरु गर्दैछौँ ।’

मन्त्री श्रेष्ठले नेपालको खेल जगतमा काम गर्न आउनका लागि अन्तर्राष्ट्रिय जगतलाई उचित वातावरण बनाउने काम भइरहेको पनि बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार