जेलभित्रबाटै बलात्कारीले दिए ज्यान मार्ने धम्की

२०८० चैत्र १८, आईतवार

काठमाडौं : बलात्कार मुद्दामा अदालतद्वारा दोषी ठहर भई हाल डिल्लीबजार कारागारमा थुनामा रहेका तादी–४ नुवाकोटका पशुपति मैनालीले पीडित महिलालाई जेलभित्रैबाट ज्यान मार्ने धम्की दिएका छन्।

मैनालीविरुद्धको उजुरीमा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेपछि उनी कारागारमा रहँदै आएका छन् । तर, अदालतले दोषी ठहर गरेर कारागारमा नै रहँदा पनि उनले पीडित महिलालाई जेलबाटै फोन गरेर बारम्बार ज्यान मार्ने धम्की दिएपछि पीडित महिला झनै विक्षिप्त बन्नुभएको छ। पीडितले धम्की दिने मैनालीविरुद्ध प्रहरी वृत्त सिंहदरबारमा आवश्यक कारबाहीको माग गर्दै ज्यान जोगाइदिन निवेदन दर्ता गराए पनि सुनुवाइ हुन सकेको छैन।

आफ्नो निवेदन सुनुवाइ नभएको र अहिले पनि बारम्बार जेलबाट धम्की आइरहेकाले आफू विक्षिप्त अवस्थामा पुगेको पीडितले बताए । ‘हालका गृहमन्त्री रवि लामिछाने सञ्चारकर्मी हुँदा तिमीलाई न्याय दिन्छु भन्दै ग्यालेक्सी टेलिभिजनमार्फत् समाचार बजाउँदै सहयोगसमेत गर्दै सधैं साथ अनि सहयोग रहन्छ भनेका थिए र तर अहिले उनी गृहमन्त्री छन्, उनको कार्यकालमा नै जेलबाट मलाई पटकपटक फोन आइरहेको छ । धम्की आएसँगै उनलाई भेट्ने धेरै कोसिस गरँे तर मन्त्रीज्यूलाई भेट्न सकिनँ’ –पीडितले भने ।

मैनालीले उनलाई २०७८ कात्तिक १५ गते बागबजारको एक गेस्ट हाउसमा जबरजस्ती करणी गरेका थिए। त्यसविरुद्ध उहाँ काठमाडौं जिल्ला अदालतमा न्याय माग्न गए। काठमाडौं अदालतले न्याय दियो। थुनछेक बहसका क्रममा जिल्ला अदालतले थुनामा राखी अनुसन्धान गर्दै थियोे तर पीडक उच्च अदालत गएर माघ ६ गते धरौटीमा छुटे, त्यसपछि पीडित झनै पीडित बन्न पुगेका थिए ।

नेपाल सरकार उच्च अदालतका विरुद्ध सर्वोच्च अदालत गयो र झन्डै डेढ वर्षको अन्तरालपछि २०८० जेठ २६ मा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको इजलासले उनलाई न्याय दिलाएको थियो। सर्वोच्चले दोषी ठहर गरेपछि सर्वोच्चको सो आदेशअनुसार मैनाली जेठ ३० गतेदेखि डिल्लीबजार कारागारमा छन् ।

जेलमा बसेका मैनालीले कारागारबाट नै फोन गरेर धम्की दिँदै तेरो परिवार नै सखाप पारिदिन्छु भन्दै गालीगलौज गर्ने गरेको पीडित महिला बताउछन्। ‘कारागारको विभिन्न नम्बरबाट फोन आउँछ। तैंले मलाई जेल हालिस् म तेरो लास बेपत्ता नै बनाइदिन्छु, छोराछोरीलाई अपहरण गराइदिन्छु’ भन्दै डिल्लीबजार कारागारको नम्बर ९७६२८७५४६७ बाट पटकपटक फोन आउने गरेको र आफू सधैं आतंकित र त्रसित भएर बस्नुपरेको पीडित महिलाको भनाइ छ।

कारागार व्यवस्थापन विभागका प्रवक्ता कमलप्रसाद पाण्डे कारागारबाट फोन गरेर धम्काउन नमिल्ने बताउछन्। कारागारबाट यसरी धम्की दिनेलाई आन्तरिक कारबाही हुने पाण्डेले बताउनुभयो। पीडित महिलाको तर्फबाट वरिष्ठ अधिवक्ता उद्धव चौलागाईं, राधिका खतिवडा, गोपाल श्रेष्ठ, शर्मिला श्रेष्ठ, मानबहादुर लामिछानेलगायतले निःशुल्क बहस गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार