किच्कबधमा भेटिएको २२ सय वर्ष पुरानो दरबारको ऐतिहासिकता दर्शाउने भग्नावशेष

२०८० चैत्र १९, सोमबार

बनियानी (झापा) : झापाको भद्रपुर नगरपालिका–३ स्थित धार्मिक तथा ऐतिहासिकस्थल किच्चकबधमा एउटा पूर्ण दरबारको ऐतिहासिकता दर्शाउने भग्नावशेष फेला परेको छ ।

पुरातत्व विभागको टोलीले सातौँ पटक गरेको उत्खननका क्रममा उक्त भग्नावशेष फेला परेको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिनुभयो । भद्रपुर–३ पृथ्वीनगरस्थित देउनिया नदी र मेची नदीको किनारमा रहेको किच्कबधको ऐतिहासिकता प्रमाणित गर्न पुरातत्व विभागको यही चैत २ गतेदेखि १८ गतेसम्म सातौँ पटक उत्खनन गरेको थियो ।

पुरातत्वविद् आचार्यको नेतृत्वमा पुरातत्व विभागका अधिकृत नवराज अधिकारी, इञ्जिनियर रोशनी महर्जन, प्राविधिक सहायक महेशबाबु शर्मा राजोपाध्याय र फोटोग्राफर राजन पौडेलले उत्खनन गर्नुभएको थियो । पहिलो पटक पुरातत्वविद् आचार्यको नेतृत्वको टोलीले विसं २०५८ मा किच्कबधमा उत्खनन सुरु गरेको थियो ।

हालसम्म गरिएको उत्खननका क्रममा किच्कबधको उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तर–पश्चिम छेउमा सेन्ट्री बस्नेसहितको भवन, सोही भवनको केही पश्चिम–दक्षिणमा अर्को बहुतले भवनको भग्नावशेष फेला परेको छ । यी चार वटा भवनको दक्षिणतिर दुई सय फुटको दूरीमा सुरक्षा प्रमुखसहित अरू सुरक्षाकर्मी बस्ने शैलीको दुईतले भवन गरी पाँच वटा भवनका संरचना फेला परेका पुरातत्वविद् आचार्यले जानकारी दिनुभयो ।

यसअघिका उत्खननबाट फेला परेका पुरातात्विक सामग्रीको वैज्ञानिक परीक्षणबाट इशापूर्व प्रथम शताब्दीतिरको मानव सभ्यतासँग गाँसिएका प्रमाणित भएको आचार्यले बताउनुभयो । “यो आधारमा किच्चकबधको ऐतिहासिकता २२ सय वर्ष पुरानो भएको पाइएको छ”, उहाँले भन्नुभयो, “भारतमासँग कुषाणकाल चलेको समयमा यसस्थलमा पनि कुनै शासकको दरबार र किल्ला रहेको हुनसक्छ । पाँचौँ शताब्दीसम्म कायम रहेको (भारतको गुप्तकालसम्म) अनुमान छ ।”

उत्खनन गरिएका संरक्षितस्थलमा मानिसले टेकेर हिँड्न नहुने आचार्यले बताउनुभयो । “यो ठाउँमा मानिसको आवतजावतले संरक्षित अवशेष भत्किने गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “संरक्षण समितिले सुरक्षित राख्नसक्ने हो भने मात्र यसको ऐतिहासिकता सुरक्षित रहन सक्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार